close

भीमदत्त नगरमा खोलिएका होमस्टे सुनसान

भीमदत्त नगरमा खोलिएका होमस्टे सुनसान

Trulli
ADVERTISEMENT

काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिका-१४का राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले कोरोना कहरका कारण कञ्चनपुरका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक घटेको बताए । 

पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा गिरावट आएको उनको भनाइ छ । 

‘गत वर्ष असार मसान्तसम्म तीन लाख जतिको कारोबार भयो’, सचिव रानाले भने, ‘कोरोना सकिएपछि पनि समूहमा पाहुना आएर बास बस्ने क्रम घटेको छ ।’ कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायको पहिलो होमस्टे आफूहरुले सञ्चालनमा ल्याएको उल्लेख गर्दै सचिव रानाले पाहुना नआएका बेला स्थानीय खेतीपाती र व्यावसायिक तरकारी खेती गरिरहेको बताए । 

‘कोरोनाअघि सात महिनामै रु आठ लाखसम्मको कारोबार हुने गरेको थियो,’ उनले भने, ‘अहिले त वैशाखयता पाहुना छिटपुटरूपमा मात्रै आएका छन् ।’

आठ वटा पाहुना घर रहेको राना थारु होमस्टेमा आउने पाहुनाको स्वागतका लागि राना थारु पम्परागत नृत्य देखाइनुका साथै स्थानीय परिकार खुवाउने गरिएको छ ।

‘होटल बसाइभन्दा सस्तो पनि पर्ने भएकाले यहाँ भ्रमणका लागि समूहमा आउने पाहुनाको रोजाइ होमस्टे पर्छ’, रानाले भने, ‘मुलुकभरका होमस्टेले सहकार्य गरेर पाहुना राख्ने खालको वातावरण बनाउन आवश्यक छ ।’

तराई भू–परिधि कार्यक्रम (ताल) को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिको आवश्यक सहयोगमा होमस्टे सुरुआत गरिएको थियो । होमस्टे सञ्चालनसँगै थारु समुदायको कला, रीति, संस्कृति जगेर्ना पनि सँगसँगै भइरहेको रानाको भनाइ छ ।

 त्यसैगरी कञ्चनपुरको झलारी बजारबाट करिब ६ किलोमिटर दक्षिण खैरकन्द्रा सामुदायिक होमस्टेमा पनि पाहुनाको आगमन छिटपुट छ । खैरकन्द्रा सामुदायिक होमस्टेका संयोजक पुरन डगौँराले कोरोनापछि होमस्टेमा चहलपहल नभएको बताए । 

‘वैशाखयता ६० पाहुनासमेत होमस्टेमा आएको छैनन्’, उनले भने, ‘छिटपुट रूपमा आए पनि सञ्चालन त्यति राम्रोसित भएको छैन ।’