close

बिर्तामोड नगरपालिकामा मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको खुलासा

बिर्तामोड नगरपालिकामा मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको खुलासा

Trulli
ADVERTISEMENT

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको खुलेको छ।

मानिसको मृत्यु भएको ३५ दिन भित्रमा मृत्यु दर्ता गराउनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार मृतकका परिवारले सम्बन्धित वडा कार्यालयमा गई मृत्यु दर्ता गराएपश्चात लगतकट्टा गरेर पनि १४ जना मृतकका नाममा दुई लाख ६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम बिर्तामोड नगरपालिकाले वितरण गरेको पाइएको हो।

२०७७ मंसिर २६ गते सनबहादुर भुजेलको मृत्यु जनाई दोस्रो र तेस्रो चौमासिकको पूरै रकम भुक्तानी गरेको पाइएको छ। उनको नाममा २१ हजार रुपैयाँ वढी भुक्तानी देखिएको छ। सो रकम असुल गर्न महालेखाले नगरपालिकालाई निर्देशन दिएको छ।

त्यस्तै २०७७ पुस ९ गते गगन राजवंशीको मृत्यु जनाई लगत कट्टा गरेपनि उनको नाममा दोस्रो र तेस्रो चौमासिकको पुरै रकम निकासा गरेको पाइएको छ। उनको नाममा १८ हजार रुपैयाँ बढी निकासा भएको बताइएको छ।

२०७७ मंसिर १७ गते नरबहादुर लिम्बूको मृत्यु जनाई ९ हजार रुपैयाँ निकासा भएको छ। त्यस्तै २०७७ वैशाख १५ गते मृत्यु जनाई लगत कट्टा गरिएका पदम थापाको नाममा २४ हजार, सोही वर्षको जेठ १६ गते मृत्यु जनाई लगतकट्टा गरिएका बुधसिंह राजवंशीका नाममा १२ हजार, २०७७ असार ३० गते दोहोरो दर्ता जनाई लगत कट्टा गरिएकी चित्रकला पौडेलको नाममा ३ हजार, २०७८ असार ३१ गते पेन्सनर जनाई माया देउजाको नाममा २४ हजार रुपैयाँ बढी भुक्तानी दिइएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै २०७८ जेठ २५ गते मृत्यु जनाउँदै लगतकट्टा गरेको श्रीकृष्ण विश्वकर्माको नाममा २ हजार, २०७८ वैशाख २९ गते मृत्यु जनाई टिकमध्वज लिम्बूको नाममा ६ हजार, २०७८ जेठ २१ गते मृत्यु जनाई लगत कट्टा गरिएको गङ्गा प्रसाद विमलीको नाममा ३ हजार, बसाइँसराइ जनाएर लगतकट्टा गरिसकिएको कौशिला मगर मास्केको नाममा ३६ हजार, २०७७ साल भदौ १४ गते मृत्यु जनाई लगतकट्टा गरेको केदारबहादुर बुढाथोकीको नाममा १८ हजार , २०७७ असोज २५ गते मृत्यु जनाई राम माया हलवाई लाई तीन हजार, २०७७ पुस ११ गते मृत्यु जनाई लगत कट्टा गरिएका कोल्ठू राजवंशीलाई ६ हजार , २०७७ माघ २० गते मृत्यु जनाई मैनो सोरेनका नाममा ३ हजार र मीना चौधरीका नाममा १८ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको हो। चौधरीको २०७७ माघ २५ गते नै मृत्यु दर्ता जनाई लगतकट्टा गरिएको छ।

यसरी नगरपालिकाले मृत्यु भएका, बसाइँ सरेर गएका र पेन्सनपट्टा लिइरहेका १४ जनालाई सामाजिक सुरक्षा भत्ता वापतको रकम दिएको हो। सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७७ को बुँदा नम्बर ९ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको योग्यता सम्बन्धमा व्यवस्था छ। साथै सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा पाइरहेका व्यक्तिको नाम  हटाउने र उपनियम ४ मा ऐन विपरित हुने गरी भत्ता लिएको पाइएमा सरकारी बाँकी सरह असुल गर्नु पर्ने व्यवस्था छ।

तर, महालेखाले नमूना छनोट गरी वडा नम्बर २ र वडा नम्बर ४ का तीन वटा चौमासिक विवरणमा वितरण भएको भुक्तानी प्रतिवेदन (रिसिभ फिड पेस नभएको) र पेश भएको लगतकट्टा विवरणलाई आधार मानी परीक्षण गर्दा लाभग्राहीले पाउने रकम भन्दा बढी रकम भुक्तानी दिएकाले छानविन गरी सो रकम असुल गर्न बिर्तामोड नगरपालिकालाई निर्देशन दिएको छ।