close

यस्तो छ, चाडबाड लक्षित स्थानीय तहको अनुगमन तयारी

यस्तो छ, चाडबाड लक्षित स्थानीय तहको अनुगमन तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं ।  दशैँ सुरु हुनुभन्दा महिना दिन अघिदेखि खाद्य सामग्रीदेखि लत्ताकपडाको भाउ आकासिन्छ । म्याद गुज्रिएका सामान  बिक्री गर्ने मौका पनि दशैँलाई नै बनाइएको हुन्छ । जसका कारण उपभोक्ता गुणस्तरहीन र महँगो सामान किन्न बाध्य हुन्छन् ।

चाडबाडमा हुने कालोबजारी र महँगी तथा उपभोक्ताको अधिकारलाई प्रभावकारी बनाउन संघीय सरकारको उद्योग व्यवस्थापन तथा आपूर्ति मन्त्रालय, प्रदेश सरकार, जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारबाट बजार अनुगमन हुन्छ । 

र, स्थानीय तहमा उपभोक्ता हित संरक्षणसम्बन्धी कार्यको समन्वय गर्ने जिम्मेवारी उपप्रमुख वा उपाध्यक्षलाई दिएको  छ । 

यही जिम्मेवारीअनुसार ललितपुर महानगरपालिकाकी उपप्रमुखले एक महिनाअघि बजार अनुगमन समिति गठन गरी अनुगमनको थालनी गरेकी छन् । 

‘बजार अनुगमन समिति तथा उपसमिति बनाएर बजार अनुगमन गरिएको छ । वस्तुको गुणस्तर, मूल्य र नापतौलको अनुगमन कडाइका साथ भइरहेको छ,’ उनले भनिन् । 

दशैँमा मासुजन्य सामग्री बढी खरिदबिक्री हुने भएकाले  प्राथमिकतामा राखेर अनुगमन भइरहेको उनले बताइन् । उपसमितिले मासुजन्य तथा खाद्यान्न सामाग्री र लत्ताकपडाको छुट्टाछुट्टै अनुगमन गरिरहेको उनले बताइन् । ‘वर्षभरिको व्यापार गर्ने मौका दशैँमा मिल्ने भएकाले नाफा कमाउन बजारमा अनियमितता हुन्छन् । तसर्थ चाडबाडमा बजार अनुगमन गर्न आवश्यक छ ।’

विभिन्न रिपोर्टले दशैँमा मात्र बजार अनुगमन भएको देखाउको भन्दै उनले उपभोक्ताको अधिकारबारे सधैँ सहज रहनुपर्ने बताइन् । दशैँमा मात्र नभई अन्य समयमा पनि नियमित बजार अनुगमन गर्ने आफ्नो योजना रहेको उनले जानकारी दिइन् । 

यस्तै, पोखरा उपमहानगरपालिकाले दशैँलाई लक्षित गरेर आइतबार बजार अनुगमन समितिको बैठकले मंगलबार बिहान ६ बजेदेखि बजार अनुगमन गर्ने निर्णय गरेको छ । 

जिल्ला प्रशासक अधिकारी परिवर्तन भएकाले बजार अनुगमन कार्यमा ढिलाइ भएको महानगरपालिकाकी उपप्रमुख मञ्जु देवी गुरुङले पालिकाखबरलाई बताइन् । ‘भोलि तरकारीको बजार अनुगमन गर्ने तयारी गरेका छौँ,’ उनले भनिन् । 

तरकारीको अनुगमनपछि खाद्यान्न तथा अन्य उपभोग्य सामग्रीको अनुगमन गर्ने तयारी महानगरको छ । महानगरले दशैँसम्म नियमित बजार अनुगमन उपप्रमुख गुरुङले पालिकाखबरलाई जानकारी दिइन् । 

गुणस्तर, नापतौल, मूल्यवृद्धि अनुगमन टोलीको साथमा अनुगमन गर्न लागिएको उनले बताइन् । चाडबाडमा बजारमा अनियमितता बढी हुने भएकाले अनुगमनलाई विशेष ध्यान दिए पनि अन्य समयमा पनि नियमित बजार अनुगमन हुने गरेको उनको भनाइ छ । 

यस्तै, महानगरले उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति र वडास्तरीय अनुगमन निर्देशिका  तयार गरी वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय अनुगमन समिति  निर्देशिका  तयार गरेको छ । 

वडास्तरीय अनुगमनका लागि वडामा पत्राचार गरिएकाले बजार अनुगमन प्रभावकारी हुने उनको विश्वास छ । 

‘यदि कालो बजारी वा गुणस्तरहीन सामान बेचेको पाइएमा उक्त सामान महानगरपालिकाले पहिलो पटकमा जफत र नष्ट गर्छ । दोस्रो पटक त्यस्तो सामान पाइए सचेत गराइन्छ । र, तेस्रो पटक दोहो¥याएमा कानुनी प्रक्रियामा जान्छौँ,’उनले भनिन् । 

यस्तै, विराटनगर महानगरपालिकाले बजार अनुगमन थालिसकेको छ । करिब १० दिनदेखि निरन्तर बजार अनुगमनको काम भइरहेको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । 

कार्कीको संयोजकत्वमा बनेको बजार अनुगमन समितिले दैनिक उपभोग्य तथा बजारमा पाइने सम्पूर्ण सामग्रीको अनुगमन गरिरहेको छ । 

‘हरेक १० देखि १५ दिनमा बजार अनुगमनको रिपोर्ट समितिले बुझाउँछ । कहिलेकाहीँ स्वयं स्थलगत अनुगमनमा जाने गरेकी छु,’ उनले भनिन् । कालोबजारी तथा गुणस्तरहीन सामग्री बेचेको पाइएमा जरिवाना लिइएको उनले बताइन् । 

‘कार्यकाल सुरु भएयता पहिलोपटक बजार अनुगमन गर्न थालिएको हो । उपभोक्ता अधिकारलाई ख्याल गर्दै दशैँमा मात्र नभई निरन्तर रुपमा बजार अनुगमन गरिनेछ,’उपमेयर कार्कीले पालिकाखबरसँग भनिन् । 

त्यसैगरी, कीर्तिपुर नगरपालिकाले पनि उपप्रमुखको अध्यक्षतामा बजार अनुगमन समिति बनाएको छ । समिति दशैँ अघि नै बजार अनुगमनमा जाने तयारीमा रहेको नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले बताइन् । 

दशैँताका अत्यधिक किनमेल हुने भएकाले सबैभन्दा बढी अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ छ ।