close

अम्रिसोले उचित मूल्य नपाउँदा कृषक मर्कामा

अम्रिसोले उचित मूल्य नपाउँदा कृषक मर्कामा

Trulli
ADVERTISEMENT

उदयपुर । मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिएका छन् । उनीहरूले पर्याप्त मात्रामा अम्रिसो उत्पादन गर्दैआएका छन् । अम्रिसोको कुचोले उचित मूल्य नपाउँदा भने कृषक मर्कामा परेका छन् ।

त्रियुगा नगरपालिकाका साउने, खाँबु, रौता, मलबासे, मुर्कुची, क्षेत्रका कृषकले व्यावसायिकरूपमा अम्रिसो उत्पादन गर्दैआएका छन् । उनीहरूले बर्सेनि अम्रिसो उत्पदान बढाउँदै लगेका छन् । कुचोको उचित मूल्य प्राप्त गर्न नसक्दा आफूहरू मर्कामा परेको त्रियुगा नगरपालिका–१४ साउनेका  देवराज लुङ्गेली मगर बताउँछन् । ‘लामो समयदेखि अम्रिसो खेती गरी  कुचो बनाउँदै आएका छौँ, तर उचित मूल्य पाउन सकेका छैनौँ’, उनले भने । 

रौतामाई गाउँपालिका मुर्कुचीका लोकबहादुर पुलामी पनि अम्रिसोको कुचोले उचित मूल्य पाउन नसकेको गुनासो गर्छन् । पुलामीका अनुसार सात वर्षदेखि अम्रिसोको कुचो खरिदकर्ताले प्रतिकुचो न्यूनतम ४० र अधिकतम् ५० सम्ममा मात्र खरिद गर्दैआएका छन् । बजारमा व्यापारीले प्रतिकुचो ८० देखि एक सयका दरले बिक्री गर्दैआएका छन् । 

यस क्षेत्रमा उत्पादन हुने अम्रिसोको कुचो सदरमुकाम गाईघाटका खरिदकर्ताले जिल्ला बाहिर सप्तरी, सिरहा, राजविराज, धनुषा, सर्लाही, इटहरी र विराटनगरसम्म लगेर बिक्री गर्ने गरेका छन् ।

गाईघाटका व्यापारी सुरेन्द्र साह बाहिरी जिल्लामा बिक्री गर्न लैजाँदा ढुवानी भाडाका कारण कुचो महङ्गो हुने गरेको बताउनुहुन्छ । बेलका नगरपालिकाको पहाडी क्षेत्रको बबला, मैनामैनी, चौदण्डीगढी नगपालिकाको चौदण्डी, सिद्धिपुर क्षेत्रमा अम्रिसो खेती हुँदै आएको छ । 

यस्तै त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको मुर्कुची, पोखरे, सल्ले, भुटारसहित उदयपुरगढीको भलायाडाँडा, डुम्रे क्षेत्रमा पर्याप्त मात्रामा अम्रिसो उत्पादन हुँदै आएको छ ।