close

नयाँ वर्षको अवसरमा ‘रात्री बजार’ सञ्चालन गर्दै विरगञ्ज

नयाँ वर्षको अवसरमा ‘रात्री बजार’ सञ्चालन गर्दै विरगञ्ज

Trulli
ADVERTISEMENT

पर्सा। विरगञ्ज महानगरपालिकाले नयाँ वर्षमा वीरगञ्जमा ‘रात्री बजार’ सञ्चालन गर्ने भएको छ। महानगरले चैत ३० देखि वैशाख २ गतेसम्म ‘रात्री बजार’ सञ्चालन गर्न लागेको हो। 

उक्त समयमा भारतबाट नेपाल प्रवेश गर्ने वीरगञ्जस्थित मुख्य नाका २४ सै घण्टा खुल्ने भएको छ । सामान्यतया वीरगञ्ज नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहन्छ । तर भारतीय पर्यटकहरुलाई लक्षित गरि महानगरपालिकाले नयाँ वर्षमा वीरगञ्जमा सञ्चालन गर्न लागेको ‘रात्री बजार’ का लागि वीरगञ्ज नाका २४ सैं घण्टा खुल्ला रहने मेयर राजेशमान सिंहले बताए । 

उनले ‘रात्री बजार’ लाग्ने तीन दिन सम्म नाका २४ सै घण्टा खुल्ला राख्नका लागि नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरिसकेको बताए । केहि वर्ष यता सुस्त भएको वीरगञ्जका पसलहरु राति ९ बज्दै सुरक्षाकर्मीले बन्द गराउदै आएका कारण झनै थलिएको यहाँको व्यापार व्यवसायलाई  चलायमान बनाउने उद्देश्यले वीरगञ्ज महानगरले पहिलो पटक ‘रात्री बजार’ सञ्चालन गर्न लागेको हो। 

मेयर सिंहले भने, ‘हामीले परिक्षणका रुपमा अहिले तीन दिनका लागि मात्र “रात्री बजार” लगाउदैछौं, यसबाट राम्रो प्रतिक्रिया आयो भने सँधैका लागि वीरगञ्जको बजार रातभर सञ्चालन गर्ने सोचमा छौं ।’ अहिले तीन दिनका लागि मात्र सञ्चालन गरिने ‘रात्री बजार’ ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै रातमा पनि किनमेल गर्ने चलनको विकास हुने अपेक्षा लिएको मेयर सिंहले बताए । 

‘रात्री बजार’मा आदर्शनगर चोकदेखि कैलाश होटल चोक हुदै पुरानो बसपार्क र चिल्ड्रेन पार्क सम्मको सडकमा खानाका परिकार, लत्ताकपडा, जुत्ताचपल लगायतका गरि १ सय भन्दा बढि स्टलहरु राखिनेछ ।