close

ईश्वरपुरमा बहुउद्देश्यीय भवनका लागि नगर विकास कोषको सहयोग

६७ लाख अनुदान र ४ करोड ५० लाख ऋण दिने

ईश्वरपुरमा बहुउद्देश्यीय भवनका लागि नगर विकास कोषको सहयोग

६७ लाख अनुदान र ४ करोड ५० लाख ऋण दिने

Trulli
ADVERTISEMENT

काठमाडौं– नगर विकास कोष र सर्लाहीको ईश्वरपुर नगरपालिकाबीच लगानी ऋण सम्झौता भएको छ । ईश्वरपुरमा बहुउदेश्यीय भवनसहित आधुनिक वधशाला निर्माणको लागि कोषले ऋणस्वरुप लगानी गर्नका लागि नगरपालिकासँग सम्झौता गरेको हो ।

नगरपालिकाले कोषसँग ऋण लिएर बयरवास बजारमा व्यापारिक भवन निर्माण गर्ने जनाएको छ । सो भवन निर्माणको लागि नगर विकास कोषबाट अनुदान १५ प्रतिशत र ऋण ५५ प्रतिशत गरी ७० प्रतिशत सहयोग रहने छ । नगर विकास कोषले ४ करोड ५० लाख १७ हजार रुपैयाँ ऋण स्वरुप उपलब्ध गराउने कोषका मावन संशाधन विकास विभागका प्रमुख सूर्यबहादुर कार्कीले बताए । सो भवन निर्माणको लागि कुल लागतको ६७ लाख १५ हजार रकम नगर विकास कोषले नगरपालिकालाई अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । बाँकी ३० प्रतिशत ईश्वरपुर नगरपालिका आफ्नो आन्तरिक लगानी रहने छ । ऋण ७.५ प्रतिशत व्याजरमा २० वर्षको लागि प्रदान गरिने कोषले जनाएको छ ।

सम्झौताको पहिलो दुई वर्ष व्याजमा सहुलियत दिने विभाग प्रमुख कार्कीले बताए । ‘ऋणबापतको रकम एकै पटकमा उपलब्ध हुँदैन । आयोजनालाई बोलपत्र आह्वान गरेर ठेक्कामा दिनुपर्छ । नगरपालिकाको प्राविधिकलाई आयोजना अधिकृत घोषणा गरेर उहाँहरुले कार्यप्रगति हेरेर ठीक छ भन्नुपर्छ ।’ आयोजना सहि तरिकाबाट भएको छ भन्ने प्रमाणित भएर खर्चको बिल आएपछि बिलको ७० प्रतिशत रकम कोषले भुक्तानी गर्ने उनले बताए ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोष र नगरपालिकाबीच दिर्घकालीन सम्बन्ध स्थापना हुनुपर्ने बताए । उनले भने, ‘ईश्वरपुर नगरपालिकाले तोकिएको समयमा वहुउदेश्यिय भवन निर्माण गरेर सफल सञ्चालन र व्यवस्थापन गरेर पालिकाको लागि दिगो आर्थिक व्यवस्थापन गर्छ भन्ने विश्वास छ ।’ तर, नगरपालिकामा जनप्रतिनिधि परिवर्तन भएपछि ऋण भुक्तानी नगर्ने समस्या धेरै स्थानीय तहमा रहेको कार्यकारी निर्देशक सापकोटाले बताए । उनले भने, ‘नेतृत्व परिवर्तन भएपछि पनि ऋण तिर्ने वातावरण मिलानुपर्छ ।’

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्यले कोभिड–१९ पछि बयरवास बजारका श्रमजिवी व्यवसायिको अवस्था तहसनस भएको र सो व्यवस्थापनको लागि बहुउदेश्यिय भवन निर्माण गर्न लागिएको बताए । उनले भने, ‘बयरवास बजार चामल आयात गर्ने मुख्य केन्द्र हो । यो बजारमा बैंक र वित्तिय संस्थाले दुई हजार करोडभन्दा धेरै लगानी गरेका छन् । तर अहिले यो बजार गाईवस्तु बेच्ने थलो मात्र बनेको छ ।’

सो बजारलाई गाईबस्तु बेच्ने थलोमात्र नभई व्यवस्थित बजार बनाउन नगर विकास कोषको सहयोगमा बहुउदेश्यीय भवन निर्माण गर्न लागिएको उनले बताए । बहुउदेश्यीय भवनमात्र नभई नगरपालिकामा खानेपानी, बजार व्यवस्थापन, पर्यटन प्रवर्द्धनका नामामुखी आयोजनामा भविष्यमा पनि नगर विकास कोषसँग सहकार्य गर्ने उनले बताए ।

उनले भने, ‘नेपाल सरकारबाट कुनै पनि विकास निर्माणले लागि बजेट पठाउँछ । कुनै योजना सिध्याउन ७ करोड बजेट चाहिन्छ भने सरकारबाट आउने थोरै थोरै बजेटबाट आयोजना निर्माण गर्नै १०/१५ वर्ष लाग्छ ।’ कोषबाट ऋण लिएर सो काम केही समयमा सम्पन्न गर्न सकिने उनले बताए ।