close

एउटै पालिकामा ५०० पुष्प व्यवसायी, ६ करोडको निर्यात

एउटै पालिकामा ५०० पुष्प व्यवसायी, ६ करोडको निर्यात

Trulli
ADVERTISEMENT

भक्तपुर- तिहार सुरु भएसँगै भक्तपुरकी हिरामाया तसिजूलाई मखमली फूलको माला बेच्न भ्याइनभ्याइ छ । उनले करिब एक रोपनी क्षेत्रफलमा मखमली फूल लगाएका छिन् । 

मकै छर्ने बारीमा फूल लगाएका उनले गत साउन महिनादेखि नै टिपेर माला बनाउन थालेको सुनाइन् । चैत्र महिनामै बेर्ना राख्ने, बैसाखमा रोप्ने र असार साउनदेखि फूल टिप्ने उनको भनाइ छ । 

फूल रोपेपनि दुख अनुसारको मूल्य नपाएको उनले दुखेसो व्यक्त गरिन् । आफूले १८ देखि ४० रुपैयाँमा माला बेच्दै आएको उनले बताइन् । 

भक्तपुरमा उनीसँगै अन्य स्थानीय बासिन्दाले परम्परागत खेती गर्ने स्थानमा फूल खेती रोपेका छन् । घरायसी काममा व्यस्त हुने भएकाले केही आम्दानीको लागि फूल खेती गर्ने गरेको उनको भनाइ छ । 

मखमली फूल भक्तपुरको सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा उत्पादन हुँदै आएको छ । स्थानीय बासिन्दाले व्यावसायिक तथा जिविकोर्पाजनको रुपमा फूल खेती गर्ने सूर्यविनायक नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले बताए । 

उनका अनुसार सूर्यविनायक नगरपालिकाको वडा नम्बर ४, ७ र १० मा व्यवसायिक रुपमा मखमली फूल खेती हुँदै आएको छ । फूलखेतीमार्फत तिहारमा मात्रै करिब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने उनले पालिकाखबरलाई बताए ।

नगरपालिकाभित्रबाट करिब साढे २ करोड रुपैयाँ मखमली फूल बेच्ने उनको भनाइ छ । मखमली फूल बैशाखमा रोपेर असारदेखि नै माला बनाउन मिल्ने भएकाले उत्पादन राम्रो भएको उनले सुनाए । 

नगरपालिकाभित्र करिब ५०० जना कृषकले व्यावसायिक रुपमा फूल खेती गर्दै आएको उनले सुनाए । ‘पहिलो मखमली फूल खेती मात्रै गरिन्थ्यो तर आजभोलि सयपत्री फूलखेती पर्ने गर्दै आएका छन्,’ उनले भने, ‘मखमली तिहारमा मात्रै हुने तर सयपत्री सदाबहार हुने भएकाले खेती सुरु गरेको हो ।’

धान र मकै लगाउने खेतबारीमा फूलखेती गरिने उनले सुनाए । फूल खेतीमा राम्रो आम्दानी हुने भएकाले पनि आकर्षण बढेको उनको भनाइ छ । फूलखेतीको सहजीकरणका लागि नगरपालिकाले अनुदानमा बेर्ना वितरण गरेको उनले सुनाए ।

‘हामीले ७० प्रतिशत अनुदानमा सयपत्री र मखमली फूलको बेर्ना वितरण गरेका छौँ’, उनले भने, ‘पालिका आफैँले बेर्ना तयार पारेर वितरण गरेका हौँ ।’ उनले फूल खेतीका लागि नगरपालिकाले किटनाशक औषधी वितरण गर्दै आएको बताए । 

पालिकामा फूल उत्पादन राम्रो भए पनि कृषकले उचित बजार नपाएको उनको भनाइ छ । उत्पादित फूल व्यापारीले बारीमा लिन जाने भए पनि बार्गेनिङ गर्ने उनले सुनाए । उनका अनुसार पालिकाभित्र प्रतिमाला २० देखि ३० रुपैयाँसम्म बिक्री हुँदै आएको छ । 

फूलको बजारीकरणका लागि पालिकाले सहकारी संस्थासँग कुराकानी गर्दै आएको उनले बताए । सहकारी संस्थालाई अनुदानमा कार्यक्रम सञ्चालन गर्न दिने योजना बनाएको उनले सुनाए । 

फूल खेती प्रवद्र्धनका लागि नगरपालिकाले संकलन केन्द्र स्थापना गर्न लागेको उनले बताए । सोका लागि सहकारी संस्था तथा स्थानीय बासिन्दासँग आवेदन माग गरे पनि कसैको दरखास्त नपरेको उनको भनाइ छ । सोका लागि आफूहरु प्रयासरत रहेको उनको दावी छ । 

पछिल्लो समय मुलुक मखमली फूलमा आत्मनिर्भर रहेको फ्लोरीकल्चर एशोसियसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनका अनुसार भक्तपुरको गुण्डु क्षेत्रमा मखमली फूलको उत्पादन राम्रो भएको उनले सुनाए । 

उत्पादन राम्रो भएकाले विदेशमा समेत करिब ६ करोड रुपैयाँको मखमली फूल निर्यात हुने गरेको उनले पालिकाखबरलाई बताए । उनका अनुसार परम्परागत रुपमा भाइटीका मनाउनका लागि नेपालीहरु पुगेका अधिकांश मुलुकमा मखमली फूलको निर्यात हुँदै आएको छ ।