close

चियाको पारखीहरूका लागि स्वाद परीक्षण रेष्टुरेन्ट

चियाको पारखीहरूका लागि स्वाद परीक्षण रेष्टुरेन्ट

Trulli
ADVERTISEMENT

इलाम- सूर्योदय नगरपालिकाले चिया परीक्षण अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्मांण गरिरहेको छ । चियाको बजारीकरण र गुणस्तरीय प्रवर्द्धनका लागि नगरपालिकाले प्रदेश सरकारको सहयोगमा सो केन्द्रको स्थापना गर्दै आएको हो । 

नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालका अनुसार केन्द्रबाट पालिकाभित्र उत्पादित चियाको प्रशोधन गरिने छ । पालिकामा चिया पर्यटकको आकर्षण बढाउनका साथै चियाको बजारीकरणका लागि सो केन्द्र स्थापना गर्दै आएको उनले पालिकाखबरलाई बताए । 

कोशी प्रदेशको सहयोग र नगरपालिकाको बजेटमा केन्द्र निर्माणको काम भइरहेको हो । सो केन्द्रमा चियाको पारखीहरुलाई विभिन्न स्वादको परिक्षण गराइने उनले सुनाए । पर्यटनसँगै चिया उत्पादन नगरपालिकाको मुख्य स्रोत भएकाले सोको प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले दावी गरे ।

केन्द्रमा चियाको स्वाद परिक्षण, प्रशोधन तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने उनले बताए । सोका लागि टेण्डरमार्फत निर्माण कार्य सुरु गरिने उनको भनाइ छ । बजेट अपुग भएमा केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरिने उनकाे भनाइ छ ।

उनका अनुसार नगरपालिका क्षेत्रमा साना, ठूला तथा मझौला गरी ६५ वटा चिया बगान रहेका छन् । उत्पादित चिया भारत तथा तेस्रो मूलुकमा निर्यात गरिने उनले सुनाए । चियामार्फत आन्तरिक तथा बाह्य पर्यटनको समेत ध्यान तान्न सकेको उनले जानकारी दिए । 

चियाको गुणस्तरीयताको आधारमा मूल्य निर्धारण हुने उनले जिकिर गरे । तेस्रो मूलुकमा निर्यात गर्नको लागि नगरपालिकाले व्यवसायीसँग समन्वय गर्दै आएको उनले सुनाए । चियाको प्रवर्द्धनका लागि नगरपालिकाले अनुदानमा विभिन्न सामग्री वितरण गर्दै आएको उनले जानकारी दिए । उनका अनुसार नगरपालिकाले चिया टिप्न मेसिन तथा प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ ।

नगरपालिकाकी बाली संरक्षण अधिकृत सीमा कार्कीका अनुसार पालिकाले चिया प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट कृषकलाई चिया खेती सम्बन्धी तालिम तथा अनुदानमा औजार वितरण गर्दे योजना बनाएको उनले पालिकाखबरलाई बताइन् ।

पालिकाको मुख्य स्रोत चिया खेती भएकाले सोलाई प्राथमिकता दिएको उनले जानकारी दिइन् । चिया खेतीमा सिँचाइको समस्या हुने भएकाले सोको लागि नगरपालिकाले कार्यक्रम सञ्चालन गरिने उनले बताइन् । 

'चियाको लागि वर्षभरी नै सिँचाइ चाहिन्छ । तर टिप्ने समयमा खडेरी हुन्छ,' उनले भनिन्, 'सिँचाइका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ ।' साथै चिया खेती गर्ने कृषकलाई तालिमको व्यवस्था गरेको उनको भनाइ छ ।