close

दलित भन्दै सहकारीले शेयर सदस्य बन्न नदिएपछि...

दलित भन्दै सहकारीले शेयर सदस्य बन्न नदिएपछि...

Trulli
ADVERTISEMENT

बागलुङ- काठेखोला गाउँपालिकामा सागसब्जी तथा दूध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेषगरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दूध उत्पादन गर्छन् । ब्राहमण समुदायले घरबाटै दूध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दूध बिक्री गर्न पाएका छैन । गाउँमा दूध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ । 

सरोकारवाला निकायले नै चासो नदिँदा दूध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दूध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने बताए । 

काठेखोला गाउँपालिकामा दूध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरुको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दूध सङ्कलन केन्द्र स्थापना गर्ने बताए ।

“सङ्घसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो बढेको छ”, प्रवक्ता विकले भने ।  “गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको छ ।  अब जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ ।”

काठेखोला गाउँपालिका–१ पालकाकी अस्मिता विकले दूध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको बताइन् । हिउँदमा कम भए पनि बर्षा याममा बढी दूध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गरिन् । छरछिमेकीको घरको दूध बिक्री भए पनि दलित परिवारको नहुने उनले गुनासो पोखिन् । आफूहरु अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउनुहुन्छ । 

गाउँमा दूध सङ्कलन र बजारसम्म पुर्‍याउनका लागि सहकारी स्थापना भए पनि आफूहरुलाई शेयर सदस्यसमेत बन्न नदिएको बताइन् ।