close

१०० रोपनीमा फलफूल : विरुवा पालिकाको, गोडमेल स्थानीयको

१०० रोपनीमा फलफूल : विरुवा पालिकाको, गोडमेल स्थानीयको

Trulli
ADVERTISEMENT

संखुवासभा - चिचिला गाउँपालिकाले एक वडा एक उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर तथा आर्थिक रुपमा सम्पन्न बनाउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाको अध्यक्ष पासाङ नर्बु शेपाका अनुसार पालिकामा वडागत रुपमा फरक फरक नगदे तथा तरकारी बाली लगाउन दिइने छ । गाउँपलिकामा सुन्तला, कफी, कागती, एभोकाडो तथा चिया बाली लगाउने उनले पालिकाखबरलाई सुनाए । स्थानीय बासिन्दाले एउटै वडामा फरक वा एक किसिमको बाली लगाउन सक्ने उनले बताए । 

स्थानीय बासिन्दाले सामूहिक वा व्यक्तिगत रुपमा कम्तीमा १०० रोपनी क्षेत्रफलमा बाली लगाउनको लागि कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । 'कृषिमा आत्मनिर्भर बनाउनका लागि हामीले १०० रोपनीमा फलफूलको बोट लगाउने कार्यक्रम ल्याएका हौँ,' उनले भने, 'स्थानीय बासिन्दाले सुन्तला, कागती, एभोकाडो वा अन्य विरुवा लगाउने पाउने छन् ।'

सोका लागि झाडी फाँड्न, खाल्डाे खन्न तथा आवश्यक विरुवा खरिद गर्नको लागि गाउँपालिकाले नै बजेट विनियोजन गर्ने उनले सुनाए । सोबाहेक रोप्न, गोडमेल तथा मलको व्यवस्था स्थानीय बासिन्दाले गर्नुपर्ने उनको भनाइ छ ।

 सो विरुवाबाट उत्पादन हुने सामग्रीको बजारीकरणसमेत गाउँपालिकाले नै गर्ने उनले बताए । फलेपछि कहाँ बेच्ने भन्ने समस्या आउन सक्छ । सो समस्या सामधानको लागि गाउँपालिकाले नै उत्पादित सामग्री खरिद गरी बेच्ने व्यवस्था गर्ने छ, उनले भने । सो कार्यक्रमको लागि गाउँपालिकाले चालु आवमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।