close

पुन:प्रयोग गर्न नमिल्ने डाइपर र स्यानिटरी प्याड प्रतिबन्ध

पुन:प्रयोग गर्न नमिल्ने डाइपर र स्यानिटरी प्याड प्रतिबन्ध

Trulli
ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुको एकमात्र नगरपालिका सोलु दूधकुण्डमा स्यानिटरी प्याड र डाइपर प्रतिबन्धित छ । पर्यटकीय जिल्लाको सदरमुकाम भएकोले हाइकिङमा आउने, आन्तरिक तथा बाह्य पर्यटकका कारण उक्त प्रतिबन्ध कायम राख्न भने चुनौती रहेको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा बताउँछन् । 

'हामीले यो निर्णय गरेपछि यहाँका व्यवसायीले व्यापारका लागि ल्याउँदैनन्, यहाँ किन्न पनि पाइँदैन तर बाहिरबाट आउनेले ल्याएका कारण फोहोरमैला व्यवस्थापनमा सबैभन्दा ठूलो चुनौती नै प्याड र डाइपर हो बनेको छ,' उनले पालिका खबरसँग भने । 

मेयर शेर्पाका अनुसार सोलु दूधकुण्ड नगरपालिकामा पुन:प्रयोग गर्न मिल्ने डाइपर र स्यानिटरी प्याडमात्र खरिद बिक्री गर्न पाइन्छ । उनका अनुसार यसले एकातिर एउटै बस्तुको पटक-पटक प्रयोग गर्न सकिने भएकाले सर्वसाधारणका लागि आर्थिक भार कम हुन्छ भने अर्कोतिर 'युज एण्ड थ्रो' सामान प्रयोग नभएपछि नगरको सरसफाइमा टेवा पुग्छ । त्यसैले आर्थिक अवस्था कमजोर भएकाहरूको लागि धेरै उपयोगी भएको उनी बताउँछन् । साथै जहाँ पायो त्यही फोहोर फाल्ने प्रवृत्तिको पनि अन्त्य भएको उनी दाबी गर्छन् । 

साथै सोलु दूधकुण्ड नगरपालिका फोहोर व्यवस्थापनमा अघिल्लो कार्यकालदेखिनै सचेत रहेको उनी बताउँछन् । मेयर शेर्पाका अनुसार नगरलाई यसअघि नै सिसा र  प्लास्टिकजन्य बस्तुको आयातमा प्रतिबन्ध लगाइसकिएको छ । यसले गर्दा नगरमा हुने फोहोर भने स्थानीय स्तरमा कुहिने र धातुजन्य मात्र छन् । ती फोहोरको वर्गीकरण गरेर बाहिर निर्यातको काम भइरहेको छ ।

शेर्पा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले पालिका खबरसँग कुराकानीको क्रममा भने,'मेरो पहिलो कार्यकाल लर्निङ थियो भने यो कार्यकाल इम्प्लिमेन्टेशन चलिराखेको छ ।' अघिल्लो कार्यकालमा बनाइएका योजना र सिकेका कुरा कार्यान्वयण गर्ने गरी आफू आएको उनी बताउँछन् ।