close

बर्खामा सधैँ कष्ट दिने नारायणगढ-मुग्लिनको पहिरो

बर्खामा सधैँ कष्ट दिने नारायणगढ-मुग्लिनको पहिरो

Trulli
ADVERTISEMENT

चितवन । चितवन हुँदै पूर्व–पश्चिम यात्रा गर्ने मूल सडक हो– नारायणगढ मुग्लिन सडक खण्ड। यो सडक हुँदै देशका पूर्वदेखि पश्चिमसम्म १६ हजार भन्दा बढी लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनबाट मानिसहरू संघीय राजधानी काठमाडौँ आउजाउ गर्छन्। तर हरेक वर्ष वर्षात् सुरु भएसँगै यो सडक खण्डमा जो कोहीले यात्रा गर्नुअघि नै ‘बन्द बाटो’ को सास्ती बेहोर्न तयार भएर हिँड्नुपर्छ।

गत आइतबारबाट देशभर अविरल परेको झरी बुधबारसम्म कायमै छ। यो चार दिनको झरीमा काठमाडौँ जाने बाटोको भरतपुर २९ मा पर्ने केराघारीमा लेदोसहितको माटो निरन्तर झरिरह्यो।

यो झरीमा चितवन हुँदै गुड्ने सवारी साधन रोकिने मूल थलो नै केराघारीको पहिरो बन्यो। त्यस पहिरोमा रोकिएको सवारीको लाम नारायणगढ बजारसम्म आइपुगेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अविरल झरीले गर्दा गएको पहिरोले सडकमा २२ घण्टा अवरोध गर्‍यो।

लेदो पन्छाउँदै बाटो सञ्चालन गराइए पनि माथिबाट पटक पटक लेदो माटो खसिरह्यो। गएराती पौने ११ बजे बाटोको लेदो पन्छाएर गाडी अघि बढाएकोमा फेरि राती नै साढे दुई बजेदेखि मौरी खोला पुल नजिकै केराबारीमा पहिरो खस्यो।

पहिरोमा एउटा मिनी ट्रक समेत फस्यो। सडकबाट खटिएका कर्मचारीहरूले प्रहरीको सहयोगमा ट्रक पन्छाएर सडक सञ्चालनमा ल्याउन सात घण्टा बढी लाग्यो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारी भन्छन्– ‘पानी पर्ने बित्तिकै सडकमा पहिरो खसिहाल्ने कारणले यात्रुले त दुःख पाएका छन् नै हामी पनि अलर्ट भएर बसिरहनु परेको छ।’

दाङबाट काठमाडौँ हिँडेका मिलन कँडेल केराबारीको पहिरोका कारण १२ घण्टाभन्दा बढी चितवन मै रोकिए। उनले भने– ‘घर जानुपर्ने अत्यावश्यक कामले दुई दिन मात्रै छुट्टी लिएर आएँ। नाइट बसमा चढेपछि भोलिपल्ट काठमाडौँ पुगिन्छ भनेर ढुक्क भएर हिँडेको थिएँ तर पहिरोले चितवनमै एक दिन रोक्यो।’

पहिरोले कँडेल मात्रै होइन डिभिजन सडक कार्यालय चितवनका अनुसार यो रुट भएर दैनिक चल्ने १६ हजार बढी सवारी साधनलाई प्रतिदिन असर गर्छ। त्यसमा सवार यात्रुले त यसै दुःख पाउने नै भए।

६ स्थानमा धेरै जोखिम

चितवन हुँदै गुड्ने सडकको नारायणगढ कटेपछि जोगिमारासम्म ६ ठाउँमा मुख्य पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता इन्जिनियर शिव खनालका अनुसार चितवनको बाटो हुँदै गुड्ने सडकमा मुख्य समस्या रहेका प्वाइन्टहरू नारायणगढ मुग्लिन सडक खण्डमा छन् । उता यस वर्षदेखि मुग्लिन कटेपछि पनि पहिरोको समस्या दिने ठाउँहरू थपिएका छन्।

कार्यालयका अनुसार सेती दोभान, चारकिलो, पाँचकिलो, काली खोला, मौरी खोला र केराबारी अहिले पहिरोको समस्या भएका ठाउँ हुन्। यसअघि काली खोला, गोपी खोलामा सुख्खा पहिरो आउने समस्या थियो तर अहिले केराबारीमा पुलमाथि लेदो सहितको माटो बगेर समस्या थपिएको छ। इन्जिनियर खनाल भन्छन्– ‘नयाँ बनाइएको ठाउँमा होइन, पानी परेपछि पुराना ठाउँहरूमा समस्या थपिएको छ।’

उनका अनुसार हरेक बर्खामा नयाँ पहिरोका प्वाइन्ट बन्ने गरेकोले पनि थप समस्या भएको हो। पहिरोको जोखिम जतिबेला पनि हुने भएपछि चितवनस्थित डिभिजन सडक कार्यालयले आफ्नो दुई क्षेत्र नवलपुर र चितवन मध्ये चितवनमा मात्रै ध्यान केन्द्रित गर्नुपर्ने भएको छ।

अहिले दैनिक ११ वटा हेभी इक्विप्मेन्ट पहिरो पन्छाउन तयारी अवस्थामा राखिएको इन्जिनियर खनालले जानकारी दिए। अरू समयमा पहिलो पन्छाउन दुइटा मात्रै इक्विप्मेन्ट राखे हुनेमा वर्षात्‌को समयमा सधैँ पाँच गुणा बढी साधन र जनशक्ति चाहिने उनको अनुभव छ।

उनका अनुसार हरेक वर्ष नयाँ पहिरो खस्ने भएकाले यसलाई बर्खा अगावै रोक्न सम्भव छैन। ‘पहाडी क्षेत्र भएकाले पानीले कमजोर बनाएको ठाउँमा कतिबेला पहिरो खस्छ पत्तै हुँदैन’, इन्जिनियर खनाल भन्छन्– ‘यस्तो समयमा हामी पहिरो पन्छाउन तयारी अवस्थामा रहनुबाहेक अरू विकल्प हुँदैन।’