कैलाली । चुरे गाउँपालिकाका पहिरो पीडितहरूको उचित व्यवस्थापन नहुँदा उनीहरू जंगलमा त्रिपालमूनि बस्न बाध्य छन् । वर्षात्को समयमा उनीहरू जंगलमा त्रिपालमुनि बसेर कष्टकर जीवनयापन गर्दै आएका छन् ।
गत वर्ष साउन १७ गते चुरे गाउँपालिका-५ को मौरीमा पहिरो गएपछि विस्थापित भएका परिवारको समयमा उचित व्यवस्थापन हुन नसक्दा उनीहरू यो वर्षातमा पनि कष्टकर जीवनयापन गर्न बाध्य भएका हुन् । पहिरो पीडितहरू अहिले चुरे गाउँपालिका र गौरीगंगा नगरपालिको सिमाना क्षेत्रमा पर्ने राष्ट्रिय वनमा त्रिपाल टाँगेर बस्दै आएका छन् ।
उनीहरू बीच जङ्गलमा बस्न थालेको एक वर्ष भइसक्दा पनि सरोकारवाला निकायले उचित व्यवस्थापन नगर्दा कष्टकर जीवनयापन गर्न बाध्य भएको पहिरो पीडित रमेश धामीले बताए । एक बर्खा त जसोतसो कटियो यो वर्षात्को समय कसरी काट्ने भन्ने चिन्ता बढेको उनले दुखेसो गरे ।
‘हामी त्रिपाल टाँगेर जंगलमा बसेका छौं, अब वर्षा सुरु भयो, छोराछोरीलाई किरा र सर्पबाट कसरी बचाउने भन्ने चिन्ताले नसुती रात बित्छ,’ उनले भने । चुरेका पहिरो पीडितहरू विभिन्न ठाउँमा कष्टकर जीवनयापन गर्दै आएका
छन् । अन्त कतै जाने ठाउँ नभएपछि आफूहरू सोही स्थानमा बस्न बाध्य भएको पीडितहरू बताउँछन् ।
घरमा भएको खाद्यान्न सकिँदा कति दिन त भोक भोकै बस्नु परेको पहिरो पीडित रुपा बुढाले बताइन् । ‘ज्याला मजदुरी गरेर त साँझबिहानको हातमुख जोडिन्थ्यो, त्यो पनि बर्खाले गर्दा बन्द भएको छ । कति रात त भोकै सुतियो, कति दिन त गिठा खाएर बित्यो,’ उनले भनिन् । आफू के खानेभन्दा पनि छोराछोरीलाई के खुवाउने भन्ने चिन्ताले सताउने गरेको उनी बताउँछिन् ।
जङ्गलको बीचमा ३०० घरपरिवार त्रिपालमुनि बसिरहेका छन् । चुरे गाउँपालिकाका विभिन्न वडाहरूबाट पहिरो पीडित भएर बासस्थानको खोजी गर्दै जङ्गललाई आफ्नो बासस्थान बनाएका उनीहरूको अवस्था अहिले दयनीय बन्दै गएको छ ।
गत वर्ष पहिरोले घर खेत बगाएपछि घरबारविहीन भएका पीडितहरू राज्यप्रति उदासिन देखिन्छन् । उनीहरू खाने व्यवस्था भन्दा पनि बासको व्यवस्था मिलाई दिन राज्यलाई पटक-पटक आग्रह गरिरहेका छन् । तर, राज्यले उनीहरूको कुरा सुनेको छ, अवस्था पनि बुझेको छ र पनि बेखवर जस्तै भएको छ ।
त्रिपालमूनिको बसाइले गर्दा सानासाना बालबालिकालाई जङ्गलमा रहेका किरा फट्याङ्ग्रा सर्पबाट बचाउन गाह्रो भएको ललिता रोका मगरले बताइन् । ‘बस्न र खानको लागि मात्र समस्या नभई शुद्ध खानेपानीको पनि समस्या उस्तै छ,’ उनले भनिन् । अहिले नदीको धमिलो पानी पिउन बाध्य भएको उनले बताइन् । गत वर्ष पहिरोले चुरेमा रहेको घर खेत बगाएपछि उनीहरू घरबारविहीन भएका हुन् ।
पहिरो पीडितहरू जङ्गलमा पाइने गिठा, व्याकुर, निँगुरो र खोले खाएर बस्न बाध्य छन् । राष्ट्रिय वनमा बस्दै आएका पहिरो पीडितहरू राज्यले सुरक्षित बासस्थानको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ । घरबारविहीन भएर जङ्गलमा बस्न बाध्य भएकाहरूलाई जनप्रतिनिधिहरूले वास्तै नगरेको पहिरो पीडितको गुनासो छ ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष चक्र बोगटीसँग बुझ्दा उनले वास्ताविक पीडितको पहिचान नभएकाले व्यवस्थापनमा समस्या भएको बताए । ‘२०६६ सलादेखि अत्तरियाका बाढीपहिरो पीडित पनि सो क्षेत्रमा बसोबास गर्दै आएकाले वास्तविक पीडितको पहिचान गर्न समस्या भएको छ,’ उनले भने ।
उनले चुरेका वास्तविक पहिरो पीडितको पहिचान गर्ने जिम्मा सम्बन्धित वडालाई दिइएकाले उनीहरूको पहिचान भएपछि व्यवस्थापन गर्न सहज हुने बताए ।
उनले पहिरो पीडित बालबालिकालाई पठनपाठनमा समस्या नहोस् भनेर सो क्षेत्रमै पठनपाठनको व्यवस्था गरेको पनि बताए । उनीहरूका लागि गाउँपालिकाले शुद्ध खानेपानीको व्यवस्था पनि गरेको जानकारी दिए । अध्यक्ष बोगटीले पीडितका लागि गाउँपालिकाले सो क्षेत्रमा १० वटा शौचालय पनि बनाएको बताए ।
अध्यक्ष बोगटीले वास्तविक पीडितलाई पहिचान गरेर सो क्षेत्रमा राख्नका लागि सव-डिभिजन वन कार्यालय चैमालासँग पटक-पटक छलफल भइरहेको बताए । साथै प्रदेश सरकारसँग पनि छलफल भइरहेको जानकारी दिए ।