close

सप्तरीमा पछिल्लो ३ वर्षभित्र पोखरीमा डुबेर ५७ जनाको मृत्यु

सप्तरीमा पछिल्लो ३ वर्षभित्र पोखरीमा डुबेर ५७ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी । नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ । 

प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ । मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ११, २०७७/०७८ मा २२ र २०७८/७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो । 

तीन वर्षको अवधिमा बालबालिकाको मृत्यु अन्य कारणले भन्दा डबेरै मृत्यु हुनेको सङ्ख्या अधिक रहेको छ । तीन वर्षमा २१  बालक र १२  बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । जस्मा सात  बालक र छ जना बालिका त पाँच वर्ष मुनिका छन् । 

तराई–मधेशमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर समेत मृत्यु हुने गरेको छ । यो तीन वर्षको अवधिमा २६को पोखरीमा, १० को खाल्डोमा, सातको खोलामा, १०को नहरमा र चार जनाको नदीमा डुबेर मृत्यु भएको थियो ।  

गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेको सङ्ख्यामा वृद्धि हुनुका साथै पोखरी धनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ थियो । डुबेर बालबालिकाको बढी मृत्यु हुनुमा अभिभावकको लापरबाही नै देखिएको प्रहरीको अनुमान छ ।

डुबेर मृत्यु हुनेमा बालबालिका बढी भए पनि मादक पदार्थ खाएका, छारेरोग लागेका, पानीको गहिराइको बेवास्ता गरेका ठूला मानिसको पनि डुबेर मृत्यु हुने गरेको छ । जिल्ला प्रहरीले डुबेर मृत्यु हुने घटना वृद्धि भएको जनाउँदै अभिभावकलाई ध्यान पुर्‍याउन र निगरानी गर्न आग्रह गरेको छ ।