close

कर्मचारी र जनप्रतिनिधिको सुविधाबाट भूकम्प पीडितलाई सहयोग

कर्मचारी र जनप्रतिनिधिको सुविधाबाट भूकम्प पीडितलाई सहयोग

Trulli
ADVERTISEMENT

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जाजरकोट भूकम्प पिडितको सहयोगार्थ राहत रकम पठाउने निर्णय गरेको छ ।

गत कात्तिक १७ गते राती गएको भूकम्पबाट आफन्त गुमाएका, घाइते तथा विस्थापित भएका पिडितको पुर्नवास लगायतका व्यवस्थापनका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको तलव तथा सेवासुविधा कटाएर सहयोग रकम पठाउने निर्णय गरेको हो ।

शुक्रबार गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको संयोजकत्वमा बसेको जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यपकको संयुक्त अन्तरक्रिया कार्यक्रमले सहयोग पठाएर भूकम्प पिडितको घाउमा मल्हमपट्टी गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिए ।

भूकम्प पिडितका लागि गाउँपालिकाका जनप्रतिनिधिको ५ दिन बराबरको सेवासुविधा, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको ५ दिन बराबरको, योजना शाखा प्रमुखको ४ दिन बराबरको, शाखा प्रमुखहरुको ३ दिन बराबरको, गाउँपालिका र गाउँपालिका अन्तरगतका कार्यालयमा कार्यरत कर्मचारीको २ दिन बराबरको, सामुदायीक विद्यालयमा कार्यरत शिक्षकको २ दिन बराबरको र सामुदायिक विद्यालयमा कार्यरत लेखा कर्मचारी, कार्यालय सहयोगी, बाल विकास सहयोगी कार्यकर्ताको १ दिन बराबरको तलव कटाएर सहयोग स्वरुप पठाउने तयारी गरिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्रिच्युडको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको छ ।