close

चार हजार १३९ भूकम्प पीडितलाई राहत वितरण

चार हजार १३९ भूकम्प पीडितलाई राहत वितरण

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– आठविसकोट नगरपालिकाले ४ हजार १३९ भूकम्प पीडितलाई अस्थायी आवास निर्माणको लागि राहत रकम उपलब्ध गराएको छ । 

नगरपालिकाले जिल्ला विपद कोषबाट स्थानीय विपद कोषमा आएको रकमबाट राहत रकम वितरण गरेको हो । शुक्रबारसम्ममा ४ हजार १३९ परिवारलाई अस्थायी आवास निर्माण गर्न २५ हजार रुपैयाँको दरले दश करोड ३४ लाख ७५ हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहले बताए ।

हालसम्म जिल्ला विपद् कोषबाट नगरपालिकाको विपद् कोषमा १७ करोड ५० लाख रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए । उनका अनुसार सात हजार घरपरिवारका लागि २५ हजारका दरले उपलब्ध गराउने गरी जिल्ला विपद् कोषबाट सहयोग प्राप्त भएको छ ।  

जाजरकोट केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भुकम्प प्रभावितमध्ये आठविसकोटमा ९ हजार ९६३ परिवारको लागि अस्थायी आवास निर्माण आवश्यक रहेको उनले बताए । उनले भने, ‘अहिलेसम्म सात हजार लाभग्राहीको लागि जिल्ला विपद् कोषबाट रकम प्राप्त भयो । सबै लाभग्राहीको लागि रकम आउँछ होला ।’ स्थानीय विपद् कोषमा जम्मा भएका रकम चाँडै सबै लाभग्राहीको खातामा उपलब्ध गराउने उनले बताए । 

यस्तै, अनुदान बापतको रकमबाट १ हजार ४६५ वटा अस्थायी टहरा निर्माण सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ । ३ सय ४५० वटा टहरा निर्माणाधिन अवस्थामा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले पालिकाखबरलाई बताए । उनले भने, ‘नगरपालिकाको स्थानीय विपद् कोषबाट मात्र नभइ अन्य क्षेत्रको सहयोगबाट पनि अस्थायी टहरा निर्माण भइरहेका छन् ।’