close

रुकुम पश्चिममा २८ हजार भूकम्प पीडितका अस्थायी आवास निर्माण

सबैभन्दा बढी आठबिसकोटमा ८ हजार

रुकुम पश्चिममा २८ हजार भूकम्प पीडितका अस्थायी आवास निर्माण

सबैभन्दा बढी आठबिसकोटमा ८ हजार

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - जाजरकोट  भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । गत कार्तिक १७ गते गएको भुकम्पले रुकुम पश्चिममा ठुलो मानविय तथा भौतिक क्षति पुर्याएको थियो । अहिले रुकुम पश्चिममा अस्थायी आवास निर्माणको लागि धमाधम कार्य भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाभर सात हजार तीन हजार ९१२ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ मध्ये अझै तीन हजार नौ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको र ती अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । 

भुकम्पपिड्तका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९६२ लाभग्राहीका लागि स्थानीय विपद न्युनीकरण कोषमा रु २५ हजारका दरले रु ७९ करोड ९० लाख पठाईएको छ । स्थानीय विपद् कोषबाट ३०  हजार २३१ लाभग्राहीले रु २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् । जिल्लामा कायम भएका लाभग्राही मध्ये एक हजार ७३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  

भुकम्पले सबैभन्दा बढी क्षति गरेको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी आठ हजार नौ सय ३३ अस्थायी आवास निर्माण भएका छन्। त्यस्तै चौरजहारी नगरपालिकामा छ हजार एक सय ९४ वटा, त्रिवेणी गाउँपालिकामा तीन हजार चार सय ९४ वटा, बाँफीकोट गाउँपालिकामा दुई हजार ९९३ वटा , सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय ८ वटा अस्थायी आवास निर्माण भएको प्रशासनले जनाएको छ । 

आठबिसकोट नगरपालिकाले भने पहिलो किस्ता रकम पाईसकेका र अस्थायी आवास निर्माण गरेकाहरुलाई दोस्रो किस्ताको लागि फाइल तयार पार्न अनुरोध गरेको छ । साढे नौ हजार लाभग्राही कायम रहेको आठबिसकोटमा अस्थायी आवासको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।