close

उपमहानगरको बहुप्राविधिक शिक्षालय, स्थानीयलाई भारी छुट

उपमहानगरको बहुप्राविधिक शिक्षालय, स्थानीयलाई भारी छुट

Trulli
ADVERTISEMENT

तुलसीपुर उपमहानगरले मेट्रो कलेज स्थापना गरेर सञ्चालनमा ल्याएको छ । उपमहानगरले स्नातक तहसम्मको अध्यनका लागि पाँच वटा संकाय अध्ययन हुने गरी तुलसीपुर बहुप्राविधिक शिक्षालय (तुलसीपुर मेट्रो कलेज) सञ्चालनमा ल्याएको हो । 

स्थानीय स्तरमै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने उद्देश्यले तुलसीपुर उपमहानगरले तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको छ । स्थानीय सरकारले पनि कलेज सञ्चालनमा पहल लिन सक्छन् भन्ने उदाहरण दिन उपमहानगरले मेट्रो कलेज सञ्चालनमा ल्याएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

नगरकै स्वामित्वमा रहेको कलेजले गत शैक्षिक सत्रदेखि पढाइ सुरु गरिसकेको छ । तुलसीपुर–१२ हरिपौरामा पशुपति माविको जग्गामा स्थापना गरिएको छ । 

बहुप्राविधिक शिक्षालयको उद्देश्य लिएर स्थापना गरिएको कलेजमा गत वर्ष वन विज्ञान मात्रै अध्ययन भएकामा यो वर्षदेखि बहुप्राविधिक शिक्षालयको रूपमा बहुशिक्षण सुरु गरिएको नगरप्रमुख पाण्डे बताउँछन् ।

‘बाटोघाटोलगायत संरचना निर्माण मात्रै नभएर प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन पनि स्थानीय सरकारको काम हो’, उनले भने, ‘यही सोचका साथ कलेज स्थापना गरेका हौं’ । 

गत शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटी) को सहकार्यमा तीनवर्षे वन विज्ञान कार्यक्रम सञ्चालन गरेको कलेजले यसै शैक्षिक सत्रबाट पाँच वटा विषय सञ्चालन गर्न लागेको छ । 

अहिले तीनवर्षे कार्यक्रमअन्तर्गत वन विज्ञान, कृषि विज्ञान, फुड एन्ड डेरी, मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन सुरु भएको छ । प्राविधिक विषय पढ्न टाढा जानुपर्ने बाध्यता र महँगो शुल्कसमेत तिर्नुपर्ने अवस्था अन्त्य गर्न उपमहानगरले यस्तो पहल चालेको पाण्डेको तर्क छ । 

‘स्थानीय सरकारले सञ्चालन गरेका कारण हामीले अत्यन्त कम शुल्क लिने योजना बनाएका छौं,’ नगर प्रवक्ता सूर्यबहादुर डाँगीले भने, ‘तीनवर्षे कार्यक्रमअन्तर्गत वन विज्ञान, कृषि विज्ञान, फुड एन्ड डेरी, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन सुरु भएको छ ।’ कलेजमा अध्ययन गर्न चाहने उपमहानगरभित्रकालाई ४० प्रतिशत र अन्य ठाउँबाट आउनेलाई २० प्रतिशतसम्म छुट दिने गरिएको उनले बताए ।  

नगरको यो नमुना कामलाई सहयोग पुग्ने गरी चालू आर्थिक वर्षमा प्रदेश सरकारले समेत ९ करोड रुपैयाँ पूर्वाधार निर्माणका लागि सहयोग गरेको नगरप्रमुख पाण्डेले जानकारी दिए ।