close

धमाधम खुले दाङका विद्यालय

१० पालिकामा पढाइ सुरु, ६ वटा तयारीमा 

धमाधम खुले दाङका विद्यालय

१० पालिकामा पढाइ सुरु, ६ वटा तयारीमा 

Trulli
ADVERTISEMENT

दाङ– कोरोना कहरका कारण ठप्प भएको जिल्लाको शैक्षिक गतिविधि जुरमुराउन थालेको छ । ६ महिनाको कोभिड सकस पछि दाङमा शैक्षिक गतिविधि सुरु भएको हो ।

जिल्लामा रहेका १० स्थानीय तहले आफनो–आफनो तरिकारले विद्यालय सञ्चालनको सुरुवात गरेका छन् ।
  
जिल्लामा रहेका दशवटा स्थानीय तहहरु मध्ये ४ वटा स्थानीय तहले आफु अन्तरगत विद्यालयमा पठनपाठन सुरु गरिसकेका छन् । ६ वटा स्थानीय तह विद्यालय सञ्चालनको अन्तिम तयारीमा जुटेका छन् । 

सरकारले विद्यार्थी सिकाइ निर्देशिका–२०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा सहज भएको हो । सिकाइ निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र यसको तयारीमा जुटेको पालिकाका शिक्षा प्रमुखहरुको भनाई छ । 

पठनपाठन सञ्चालन गरिएका विद्यालयहरुमा अनुगमन, सुझाव संकलन लगायतका गतिविधि भइरहेका छन् । विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यालयहरुले विद्यार्थी अभिलेखिकरण, भौतिक संरचना व्यवस्थापन, आवश्यक मापदण्ड निर्माण, कार्ययोजना पेश लगायतका पूर्व तयारी गरिरहेका छन् । 

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगिशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकाका विद्यालय सञ्चालनमा आइसकेका छन भने अन्य पालिका तयारीमा जुटेका हुन् ।

विद्यालयहरुमा आवश्यक मापदण्ड निर्धारण गरी नियमित कक्षा सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत चक्रबहादुर भण्डारीले बताए । सरकारको सिकाई निर्देशिका, स्थानीय पालिका अन्र्तगतका स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन सञ्चालन गरिएको छ । 

एउटा  कक्षामा २० जना भन्दा बढी विद्यार्थी भएमा सिफ्टका आधारमा पठनपाठन गर्नुपर्ने मापदण्ड बनाएर विद्यालयहरु सञ्चालन गरिएको उनले जानकारी दिए ।  उनका अनुसार विद्यालयमा  ५० देखि १ सयजना विद्यार्थीहरु उपस्थित भएमा एक सिफ्ट, १ सय भन्दा बढी विद्यार्थी भएमा दुई सिफ्ट र सो भन्दा बढी भएमा ३ सिफ्ट गरी पढाई हुनेछ ।

यस्तै बिद्यालय सञ्चालन भएसँगै मापदण्ड लागु गरिएको छ कि छैन, अवस्था कस्तो छ? भनेर अनुगमन समेत गर्दै आएको उनले बताए ।

घोराही उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा पनि पठनपाठन सुरु भइसकेको छ । सरकारको निर्देशिका र विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर विद्यालयहरु सञ्चालनमा ल्याइको घोराही उपमहानगरका शिक्षा शाखा प्रमुख विनोद गौतमले जानकारी दिए ।

उपमहानगरभित्र रहेका ९२ वटा सामुदायिक र ७८ वटा संस्थागत विद्यालयमा समय, विद्यार्थी संख्या, भौतिक सुरक्षा प्रणाली लगायतका विभिन्न सर्तकता अपनाउँदै कक्षा सञ्चालनमा ल्याइएको उनले बताए ।

विद्यार्थीको सिकाई सहजीकरणका लागि समयतालिका अनुसार विद्यालय सञ्चालन गरिएको दंगिशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए । सामाजिक दुरी कायम गर्दै पठनपाठन सुरु गरेको उनको भनाइ छ । 

एक चरणमा ५० जना मात्र विद्यार्थी राखेर पठनपाठन गराउनु पर्ने मापदण्ड अनुसार विद्यालय सञ्चालन भएका छन् । विद्यार्थी सख्या धेरै भएका विद्यालयहरुमा विहान १० बजेदेखि वेलुका ४ बजेसम्म समयतालिका अनुसार पठनपाठन भइरहेको छ । 

बंगलाचुली गाउँपालिकामा २ असोजदेखि पठनपाठन सुरु भइसकेको छ । लामो समयम्म विद्यालय बन्द हुँदा विद्यार्थी मारमा परेको भन्दै सबै विद्यालयहरुमा पठनपाठन सुरु गरिएको गाउँपालिकाका शिक्षा प्रमुख ओमप्रकाश केसीले बताए ।

गाउँपालिकामा ४२ वटा सामुदायिक विद्यालय, १ वटा संस्थागत विद्यालय र ९ वटा बालविकास केन्द्र छन् । क्वारेन्टाइन सञ्चालन भएका कतिपय विद्यालयहरुमा बढी समस्या रहेको भन्दै समस्या समाधानका लागि प्राविधिक टोली र वडा शिक्षा समितिले काम थालेका छन् । 

६ स्थानीय तह तयारीमा

जिल्लाका ६ वटा स्थानीय पालिकाहरु नियमित विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । विद्यालय सञ्चालनका लागि लमही नगरपालिका, शान्तिनगर, बवई, राजपुर, गढवा राप्ती गाउँपालिका तयारीमा छन् । आवश्यक प्रकृया पुरा भएलगत्तै नियमितरुपमा विद्यालय सञ्चालन गर्ने उनीहरुको तयारी छ ।

लमही नगरपालिका नियमित रुपमा विद्यालय सञ्चालनको तयारीमा जुटेको छ । विद्यार्थीहरुको अभिलेखिकरण, विद्यालयहरुको मापदण्ड निर्माण र योजना पेश भएलगत्तै आगामी असोज दोस्रो सातादेखि विद्यालय सञ्चालन गरिने नगरका शिक्षा प्रमुख रविन्द्र क्षेत्रीले जानकारी दिए ।

विद्यालय कुन–कुन मापदण्ड अनुसार कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यालयहरुले पेश गरेका कार्यविधि र योजनामा छलफल गरेर विद्यालयमा पठनपाठन सुरु गरिने उनको भनाई छ  । विद्यालय र अभिभावकहरुको छलफल र समन्वयमा विद्यालय सञ्चालनको तयारी भइरहेको शान्तिनगर गाउँपालिकाका शिक्षा प्रमुख घनश्याम वलीले बताए । 

राजपुर गाउँपालिकाले पनि वैकल्पिक माध्यमाबाट विद्यालय सञ्चालनको तयारी गरिरहेको छ । गाउँपालिकामा कोरोना जोखिम यथावत रहेको, कतिपय विद्यालयहरु क्वारेन्टाईनको रुपमा सञ्चालन भइरहेकाले सिकाई सहजीकरणका लागि १० जनाको समूह बनाएर पढाई सञ्चालन गरेको छ ।

 विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्नेबारे विद्यालयहरुबाट समयमै निर्णय नआएकाले विद्यालय सञ्चालन नभएको राप्ती गाउँपालिकाले बताएको छ ।