close

काेराेनाकाे डरले चौरमै पठनपाठन

काेराेनाकाे डरले चौरमै पठनपाठन

Trulli
ADVERTISEMENT

डडेलधुरा - जिल्लाको अजयमेरु गाउँपालिकाले विद्यार्थीलाई कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सुरक्षा सामग्री उपलब्ध गराएर विद्यालयमा नियमित पठनपाठन सुरु गरेको छ । 


तर, कोरोनाका कारण क्वारेन्टाइन बनेका सामुदायिक विद्यालय भवनका कक्षाकोठा पूर्ण रुपमा निर्मलीकरण नगरिँदा विद्यार्थीले चौरमै पढ्नुपर्ने अवस्था आएको हो । 


अजयमेरुका विद्यालयले आइतबारदेखि पढाइ सुरु गरेका छन् । ३२ सामुदायिक विद्यालय रहेको अजयमेरुमा अभिभावक, शिक्षक र शिक्षा शाखा अजयमेरु गाउँपालिकासँगको छलफलपछि पठनपाठन सुचारु गरिएको हो । 


भवन भए पनि सुरक्षाका लागि विद्यालयको चौरमै सामाजिक दूरी कायम गरी पढाइ चलाइएको अजमयमेरु गाउँपालिका–१ समेजीको बालकल्याण माविका शिक्षकले बताए ।


कृषि प्राविधिक शिक्षाको पढाइ हुने बालकल्याणमा बाहिरी जिल्लाबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । ‘अन्यत्रका भन्दा यो विद्यालयमा जोखिम बढी भए पनि सुरक्षाका सबै मापदण्ड पूरा गरेपछि खोलेका हौ’, उक्त विद्यालयका प्रधानाध्यापक जगदीशसिंह भण्डारीले भने । 


बाहिरबाट आउने विद्यार्थीका लागि होस्टेल व्यवस्थापन गरिएको उनले बताए । कोरोना संक्रमण बढेका कारण विद्यार्थीहरुलाई सामाजिक दूरी कायम गरेर स्यानिटाइजर र मास्क प्रयोग अनिवार्य गरिएको शिक्षक भवानी महर सुनाउँछन् । लामो बन्दपछि विद्यालयमा पढ्न आउँदा  खुसी लागेको विद्यार्थीहरु बताउँछन् ।


डडेलधुरामा सामुदायिक विद्यालय सञ्चालन गर्ने जिल्लाकै पहिलो स्थानीय तह अजयमेरु भएको छ । अरु स्थानीय तहले पनि विद्यालय सञ्चालन गर्न छलफल चलाइरहेका छन् ।