close

मेयर उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, अब जलेश्वरको कार्यबाहक मेयर को हुन्छ ?

प्रवक्ता भट्टराईले भने, 'स्पष्ट कानूनी व्यवस्था केही छैन, तर सहमतीले कार्यवाहक तोक्ने अभ्यास छ ।'

मेयर उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, अब जलेश्वरको कार्यबाहक मेयर को हुन्छ ?

प्रवक्ता भट्टराईले भने, 'स्पष्ट कानूनी व्यवस्था केही छैन, तर सहमतीले कार्यवाहक तोक्ने अभ्यास छ ।'

Trulli
ADVERTISEMENT

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका मेयर सुरेश साह सोनार र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि अब कार्यवाहक मेयर को हुने भन्नेमा विवाद सुरु भएको छ । 

जलेश्वर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जय साहले आफुहरु मुलकोटको एउटा कार्यक्रममा भएकाले फर्किएपछि बैठक बसेर निर्णय लिइने जानकारी दिए । 'हामी युएस्एआईडीको कार्यक्रममा सबै १२ वटै वडाअध्यक्षहरुसँगै छौं,  अब यताबाट फर्केपछि तोक्नुपर्ला', निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले पालिकाखबरसँग भने- 'एकजनालाई त तोक्नैपर्छ नि ।'

यता मेयर, उपमेयर नै निलम्बनमा परेपछि वडाअध्यक्षहरुमा कार्यवाहक मेयर बन्न हानाथाप सुरु भइसकेको नगरपालिका स्रोतले बतायो । निलम्बित मेयर र उपमेयर नै जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएकाले सोही पार्टीका वडाअध्यक्षले कार्यवाहक मेयर पाउनुपर्ने दावी गरिरहेका छन् ।  

१२ मध्ये ५ वटा वडामा जसपाबाट वडा अध्यक्ष निर्वाचित छन्, एमालेबाट ६ जना र नेकपा (एस)बाट एक जना वडा अध्यक्ष छन् । त्यसमध्ये पनि वडा नं. १ का जसपाबाट निर्वाचित वडाअध्यक्ष समेत भ्रष्टाचार मुद्दामा दाेषी भएपछि निलम्बित हुन्छन् । बाँकी रहेका ११ जनामध्ये बहुमत ६ जना वडाअध्यक्ष जितेको एमालेले कार्यवाहक मेयरमा दावी गरेको छ । सिन्धुलीकाे मुलकोटकाे कार्यक्रममा रहेका सबै वडाअध्यक्षहरु एकआपसमा विभाजित हुँदै गोप्य छलफल गरिरहेका छन् भने नेकपा एमाले पोलिटब्यूरो सदस्य समेत रहेका जलेश्वरकै केन्द्रीय नेता रामदयाल मण्डल पनि कार्यवाहक मेयरका लागि आन्तरिक छलफलमा जुटिसकेका छन् ।  

कानूनी व्यवस्था के छ ? 
संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले मेयरको पद रिक्त भएको अवस्थामा उपमेयर कार्यवाहक मेयर बन्ने स्पष्ट व्यवस्था गरिदिएको छ । तर, मेयर र उपमेयर दुवै निलम्बित भएको अवस्थामा भने कानून मौन रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराई बताउँछन् । उनका अनुसार वडाअध्यक्षहरुमध्ये एक जना कार्यवाहक मेयर बन्न सक्नेछन् । १२ वटा वडाअध्यक्षहरुमध्ये एकजना निलिम्बत भइसकेकाे र बाँकी ११ जनामध्ये ६ जना नेकपा एमालेबाट निर्वाचित छन् । 

कार्यपालिकाको बैठक बस्नका लागि पहिले कार्यवाहक मेयर तोकिनुपर्दछ । तोकिएका कार्यवाहक मेयरले बल्ल कार्यपालिकाको बैठक बोलाउन सक्नेछन् । त्यसैले पनि कार्यवाहक मेयर तोक्नका लागि सर्वप्रथम आन्तरिक सहमती अनिवार्य हुन्छ । सहमती नभएमा १२ जना वडाअध्यक्षमध्येबाट बहुमत वडाअध्यक्षले छानेका वडाअध्यक्ष नै कार्यवाहक मेयर हुनेछन् । 

प्रवक्ता भट्टराईले पालिकाखबरसँग भने, 'स्पष्ट कानूनी व्यवस्था केही छैन, तर सहमतीले कार्यवाहक मेयर तोक्ने अभ्यास छ ।'

को-को परे अख्तियारको निशानामा ?
अख्तियारले बहालवाला मेयर र उपमेयरसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ । नगरपालिकाको वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

गत आर्थिक बर्षमा सञ्चालित बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यमा मेयर, उपमेयर, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र अधिकृत छैठौं धिरेन्द्र झाले योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा विवरण पेश गरेको अख्तियारले जनाएको छ । 

उनीहरूविरुद्ध ५ लाख ८४ हजार ६३७ बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ । अख्तियारले नगरपालिकाका वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साहविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारले जनाएकाे छ । उनीहरू सबैविरुद्ध समान बिगो कायम गरिएको छ ।