close

कक्षा ३, उमेर ५५ वर्ष, रोल नम्बर ३८ !

कक्षा ३, उमेर ५५ वर्ष, रोल नम्बर ३८ !

Trulli
ADVERTISEMENT

घोराही उपमहानगरपालिका वडा नम्वर २ को गंगा माध्यमिक विद्यालयमा अचेल फरक अनुहारका विद्यार्थी भेटिन्छन् ।

कोरोना कहरका कारण लामो समय बन्द भएर भर्खरै खुलेको यो विद्यालयको कक्षा ३ मा दुईजना नयाँ छात्रा छन् । अधिकांश समय जनताको घर दैलोमा भेटिने यी दुई छात्रा नियमितजसो कक्षा कोठामा भेटिन्छन् ।

बिहानै कक्षा कोठामा शिक्षक रोल नम्वर बोलाउन थाल्छन् । जब शिक्षकले रोल नम्वर ३८ भन्छन्, अलि ठुलो स्वरमा छात्रा भन्छिन्, ‘एस सर !’, रोल नम्वर ३९ पनि यस्तै ठुलो स्वरमा भन्छिन्, ‘हाजिर छु सर !’

यी २ विद्यार्थी हुन घोराही–२ कै वडा सदस्य यमी पुन र हिमा विश्वकर्मा ।  जनताको सेवाबाट फुर्सद निकाले अध्ययनका लागि भर्ना भएको बताउने यी दुवै छात्रा शिक्षकको नजरमा अनुशासित छन् ।

गंगा माद्यमिक विद्यालय रामपुरमा पुन र विश्वकर्मा कक्षा ३ मा भर्ना भएर नियमित पढिरहेको बताउँछन् ।

५५ वर्षीय पुनको रोल नम्बर ३८ हो भने ४७ वर्षीय विश्वकर्माको ३९ हो । २०७४ सालमा वडा सदस्यमा निर्वाचित दुवै सदस्यसँग पहिलो पटक विद्यालय कक्षामा बसेको रमाइलो अनुभव छ ।
 
साना भाइबहिनीसँगै बसेर पढ्दा धेरै कुरा सिक्ने अवसर पाएको उनीहरुको भनाइ छ ।

जनप्रतिनिधिमा निर्वाचित भएपछि बैठकहरुमा सहभागी भएर उपस्थितिमा हस्ताक्षर गर्नुपर्ने, वितरण गरेका लेख्य सामग्री पढ्नुपर्ने वाध्यता भएपछि दुवैमा विद्यालय भर्ना भएर पढ्ने चाहना पलायो ।

‘बैठकमा हस्ताक्षर पनि गर्न नजानदा धेरैले खिसीटिउरी गरेको अनुभव भयो,’ विश्वकर्मा भन्छिन्, ‘त्यही भएर दुवे जना स्कुल भर्ना भएर अक्षर चिन्नेमात्र होइन प्रमाणपत्र नै लिएर फर्कने गरी भर्ना भएका हौं ।’

पढ्ने उमेरमा नपढेका कारण अहिले पछुताउनु परेको र बाध्यताले विद्यालय भर्ना भएको विशवकर्माको भोगाइ छ । पढाई अनिवार्य रहेछ भन्ने लागेकोले विद्यालय शिक्षा लिन थालेको अर्की जनप्रतिनिधि पुनको भनाई छ ।

विद्यालयका सहायक प्रधानाध्यापक श्रीमण न्यौपाने समाज रुपान्तरणमा शिक्षाको महत्वलाई जनप्रतिनिधिहरुको कक्षा भर्नाले राम्रो सन्देश दिएको बताउँछन् ।

‘पढ्नुपर्छ भन्ने सन्देशसँगै बीचैमा विद्यालय छोड्ने बालबालिका र उनका अभिभावकलाईसमेत जनप्रतिनिधिको यो जाँगरले शिक्षा दिएको छ, उहाँहरु आएपछि भर्ना दर वढ्ने विस्वास छ,’ न्यौपानेले भने ।

वडा अध्यक्ष केशबराज आचार्य पनि अभिभावक तथा जनताकै प्रतिनिधि विद्यालय भर्ना भएपछि विद्यालयको शैक्षिक सुधार पनि बढ्ने बिस्वासमा छन् ।