close

त्रिवेणी र आठबीसकोटका विद्यालयको पठनपाठन अन्योलमा

त्रिवेणी र आठबीसकोटका विद्यालयको पठनपाठन अन्योलमा

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– कोरोना भाइरसका कारण बन्द भएका रुकुम पश्चिमका दुई स्थानीय तहका विद्यालयहरू अझै बन्द छन् । जिल्लाको आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू खुल्न सकेका छैनन् ।


जिल्लाका छवटा स्थानीय तहमध्ये चार स्थानीय तहले विद्यालयहरूको सक्रियतामा पठनपाठन सुरु गरिसकेका छन् । तर, आठबीसकोट र त्रिवेणीमा भने तिहार अगाडि पठनपाठन सुरु नहुने भएको छ । त्रिवेणी गाउँ कार्यपालिकाले पठनपाठन संचालनका विषयमा दशैँ, तिहारपछि सोच्ने निर्णय गरेको छ ।

 

अहिलेको असहज परिस्थितिमा पठनपाठनलाई कसरी संचालन गर्ने भन्नेबारेमा चाडवाड सकिएपछि मात्र निर्णय हुने गाउँपालिकाका शिक्षा इकाई प्रमुख ओवीराम रोकाले जानकारी दिए । गाउँ कार्यपालिकाले दशैँ, तिहार अगाडि पठनपाठन संचालन गर्न नसकिने निर्णय गरेको उनको भनाइ छ ।


पठनपाठन संचालनका विषयमा तिहारपछि मात्र निर्णय हुने उनको भनाइ छ । गाउँपालिकामा बाल विकास केन्द्रसहित ४३ वटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेका छन् । हाल उक्त विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरू घरमै बस्न बाध्य छन् ।
 


विद्यालय नखोले पनि आफ्नो क्षेत्रमा अनौपचारिक रूपमा पठनपाठनलाई सहजीकरण गर्न भने शिक्षकहरूलाई आग्रह गरिएको शिक्षा इकाई प्रमुख रोकाको भनाइ छ । त्यस्तै, आठबीसकोट नगरपालिकाले पनि चाडवाडका बेला जोखिम उच्च रहेको भन्दै तत्कालै विद्यालय नखोल्ने भएको छ ।

 

नगरप्रमुख गोर्खबहादुर केसीले तिहारपछि मात्र पठनपाठन संचालन गर्ने गरी तयारी भइरहेको बताए । अहिले तत्कालै विद्यालय संचालन गरेमा बाहिरबाट आएका व्यक्तिहरूका कारण उच्च जोखिम रहेकाले त्यसतर्फ सचेत रहँदै तत्कालै विद्यालय खोल्ने विषयमा नसोचिएको उनको भनाइ छ ।

 

तिहारपछि विद्यालय खोल्ने र कडाइका साथ पठनपाठनलाई संचालन गरी कोर्स पूरा गर्ने गरी सोचिएको नगरप्रमुख केसीले बताए । जिल्लाका मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा भने विद्यार्थीहरू विद्यालय गइरहेका छन् ।

 

विद्यालयले पठनपाठनको व्यवस्थापन गर्ने गरी स्थानीय तहहरूको  निर्णयअनुसार नै गरेर विद्यालय खोली सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहेको छ ।