close

नाम्खामा सुरु भयो पढाइ, सबै विद्यालय खुलाउँदै गाउँपालिका

नाम्खामा सुरु भयो पढाइ, सबै विद्यालय खुलाउँदै गाउँपालिका

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले विद्यालयमा पठनपाठन सुरु गराएको छ । झन्डै ७ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेको भन्दै अभिभावकले दबाब दिएपछि पठनपाठन सुरु भएको हो । 

 

लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ प्रभावित भएकाले पढाइ सञ्चालनमा ल्याउन अनुमति दिइएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । ‘लिमीको वडा- ६ का २ विद्यालयमा बाह्रै मास नियमित पठनपाठनका लागि अनुमति दिएका छौं । अन्यत्रका विद्यालयमा बिहीबारदेखि पढाइ सुचारु भएको छ’, अध्यक्ष लामाले भने । 

 

नाम्खा गाउँपालिकाको केन्द्र रहेको याल्वाङाको महाबौद्ध माध्यमिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी अन्तरपालिका र शिक्षक जिल्लाबाहिरका भएका कारण पिसीआर अनिवार्य गरिएको हो । विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर कक्षा सुरु गर्नुपर्नेछ ।

 

७ कात्तिकको विद्यालय व्यवस्थापन समिति बैठकले १२ कात्तिकबाट पढाइ सञ्चालन गर्ने निर्णय गरे पनि बुधबार शिक्षक, विद्यार्थी र अभिभावकबीच छलफल चलेकाले कक्षा सञ्चालन हुन सकेन । 

 

महाबौद्ध माध्यमिक विद्यालयमा ५ कक्षादेखि माथिको् कक्षा १२ सम्मका लागि पठनपाठन सुरु भएको छ । सोही पालिकामा १६ सामुदायिक विद्यालय र १ धार्मिक विद्यालय ( गुम्बा) मा १ हजार ६० विद्यार्थी अध्ययनरत छन् ।

 

यस्तै, हुम्लाको तल्लो क्षेत्रमा रहेको ताजकोट र अदानचुली गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा आउँदो १६ कात्तिकदेखि पढाइ सुरु गर्ने भएका छन् । ११ कात्तिकमा बसेको गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार पालिकाभरका सबै सामुदायिक विद्यालय खोल्ने निर्णय भएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

 

‘त्यसका लागि अदानचुलीका सम्पूर्ण सामुदायिक विद्यालयमा १६ कात्तिकदेखि नियमित पठनपाठन सुरु गर्न शिक्षक/कर्मचारीलाई आ-आफ्ना विद्यालयमा हाजिर भई विद्यालय सञ्चालन गर्न पत्राचार गरेका छौं’, अध्यक्ष फडेराले भने । जिल्लाको खार्पुनाथ, ताजाकोट र सर्केगाड गाउँपालिकाले कात्तिकबाटै पढाइ सञ्चालन गर्ने तयारीमा जुटेको बताएका छन् । 

 

हुम्लामा फागुनबाट नयाँ शैक्षिक सत्र सुरु भएर मंसिरमा वार्षिक परीक्षा हुने गरेको छ । हिउँदको ३ महिना हिउँदे बिदा हुने भएका कारण यहाँका स्थानीय तह धमाधम विद्यालय सञ्चालन गर्ने तयारीमा जुटेका हुन् ।