close

वैकल्पिक सिकाइमा खोटाङका स्थानीय तह 

वैकल्पिक सिकाइमा खोटाङका स्थानीय तह 

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङ कोरोना महामारी अन्त्य हुने छाँट नदेखिएपछि खोटाङका स्थानीय तहले वैकल्पिक शिक्षण सिकाइलाई सुचारु गराएका छन् भने कतिपय उपयुक्त शिक्षण विधिको खोजीमा जुटेका छन् । 


दिप्रुङ चुइचुम्मा, ऐंसेलुखर्क, केपीलाशगढी  र रावाबेंसी गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट पठनपाठन सुचारु गराएका हुन् । ४ गाउँपालिकाले शिक्षा मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका दफा ५ को (क) ४ बमोजिम अध्ययन सुचारु गराएको जनाएका छन् ।


दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा सतर्कता तथा सिफ्ट कायम गरेर आइतबारदेखि सिकाई सहजीकरण सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 


यसबाहेक गाउँपालिकाले जारी गरेको गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधिअनुसार गाउँटोल वस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठन–पाठन गर्न सकिने व्यवस्था मिलाइएको छ । 


कोरोना कहरकै बीचमा पनि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पठन–पाठनलाई सुचारु गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दासमेत कोभिड–१९ को असर नघट्दा शैक्षिक क्यालेन्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले साउन ७ देखि भदौ ३ सम्म गाउँटोलमै सिकाइ सहजीकरणको व्यवस्था मिलाएको थियो । 


तर, कोरोना संक्रमण बढिरहेको तथा स्वास्थ्य संकट निम्तिने खतरालाई दृष्टित गरी सिकाइ सहजीकरण रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई अघि बढाएको हो ।


‘विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका सिफ्ट कायम गरेर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको छ’,  गाउँपालिका अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राखिनेछ । भीडभाड हुने भएकाले नास्ता खाने समय कटौती गरिएको छ ।’


दिप्रुङका ४८ विद्यालयमा ५ हजार ५ सय १२ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई एउटा बेन्चमा १ वा २ जना मात्र राख्ने व्यवस्था छ । विद्यार्थीको संख्या बढी भएको अवस्थामा सम्भव भएसम्म गाउँमै सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन  सुचारु गराइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिए ।


कोरोनाका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको ‘ग्याप’ कम गर्न  गाउँपालिकाले सिकाइ सहजीकरणको विधि अपनाएको हो । शैक्षिक सत्रको सुरुबाट पठनपाठन गर्न नसकिएकाले यसपल्टको बर्खे बिदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।


‘वैशाखबाट सुरु हुनुपर्ने पढाइ हालसम्म ठप्प रह्यो । हालसम्म सिकाइ उपलब्धि शून्य छ । विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ’, गाउँपालिका अध्यक्ष राईले भने, महामारी रहिरह्यो भन्दैमा सिकाइ उपलब्धिबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन । अतः सामाजिक दूरी कायम गरेरै अध्ययन सुरु गराएका हौं ।’ 


जिल्लाकै रावाबेंसी गाउँपालिकाले आइतबारदेखि विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर कोचिङ सुरु गरेको छ । विशेषगरी मावि तहका विद्यार्थीलाई प्राथमिकतामा राखेर कोचिङ सुरु गरिएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए । 


केपीलाशगढी गाउँपालिकामा असोज ५ को निर्णयअनुसार विभिन्न विद्यालयमा सिकाइ केन्द्र बनाएर असोज ८ देखि सिकाइ सहजीकरण सुरु गरिएको पालिका अध्यक्ष कृष्णकुमार राईको भनाइ छ ।


यस्तै, ऐंसेलुखर्कले हाल सिकाइ केन्द्रमार्फत विद्यार्थीलाई गृहकार्य गराउने र सिकाउने अभ्यास गरिरहेको सो गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले जानकारी दिए । कोरोना कहरका कारण लामो समयपछि विद्यार्थी विद्यालय वा सिकाइ केन्द्र पुग्दा उत्साहित देखिएका छन् । तर, कुनै एउटालाई कोरोना संक्रमण देखिएको अवस्थामा अन्यलाई सर्ने त्रास भने कायमै  छ । 


बराहपोखरी गाउँपालिकाले आगामी असोज १८ देखि सिकाइ सहजीकरण गर्न बिहान र दिउँसोको सिफ्टमा रुटिन तयार पारेर कार्यान्वयनका लागि विद्यालयलाई पत्राचार गरेको छ । जन्तेढुंगा गाउँपालिकाले हाललाई ‘पर्ख र हेर’ को रणनीति अपनाएको छ । केही साता विद्यार्थी भर्ना गर्ने र कोरोना संक्रमणको अवस्था हेरेर उपयुक्त निर्णय लिने तयारी भएको गाउँपालिकाले जनाएको छ । 


यस्तै, खोटेहाङ गाउँपालिकाले पनि शिक्षण सिकाइमा सहजीकरण गर्ने गरी गत आइतबार निर्देशिका अनुमोदन गरेको छ । विद्यालय खुलाउनेभन्दा पनि सहजीकरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राई बताउँछन् ।


साकेला गाउँपालिकामा पढाइ अघि बढाउन कार्ययोजना बनिरहेको छ । सो कार्ययोजनाअनुसार पढाइ सुचारु गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तिहारअघि विद्यालय नखुलाउने भएको छ ।


त्यसको सट्टामा विभिन्न वडामा सिकाइ केन्द्र स्थापना गरेर सिकाइ सहजीकरणको तयारी भइरहेको उत्त नगरका नगरप्रमुख दीपनारायण रिजालले बताए । सो नगरपालिकाका कतिपय वडामा हाल सिकाइ केन्द्र निर्धारण गर्ने काम भइरहेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले हालसम्म शिक्षण सिकाइको वैकल्पिक उपाय छनोटलाई टुंग्याएको छैन ।


शिक्षा मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र क्याबिनेटको निर्णय बाझिँदा अन्योल सिर्जना गरेकाले हालसम्म पढाइ सुचारु गराउन नसकिएको नगरप्रमुख मेयर इवन राईले बताए ।


‘मन्त्रालयको निर्देशिकाले पठनपाठन सुचारु गराऊ भन्छ, क्याबिनेटको निर्णयले नगर भन्छ,’ नगरप्रमुख राई भन्छन्, ‘निर्देशिकाअनुसार तयारी गरियो तर अन्योल सिर्जना भएकाले अहिले के गर्ने भन्ने ठोस निर्णय लिनै बाँकी छ ।’