close

गौर नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने 

गौर नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने 

Trulli
ADVERTISEMENT


रौतहट - कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द गौर नगरपालिकाका विद्यालयहरू आइतवारबाट सञ्चालनमा आउने भएका छन् ।


नगरपालिका कार्यपालिका बैठकले सदरमुकाममा रहेका संस्थागत र सामुदायिक विद्यालयहरूलाई सिकाइ केन्द्रको रुपमा सञ्चालन अनुमति दिएको हो ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन शिक्षण तथा वैकल्पिक शिक्षण विधिबाट सिकाइ कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, नगरपालिकाको हकमा सो विधि प्रभावकारी नभए पनि लकडाउन खुलेपछि विद्यालयहरूलाई सिकाइ केन्द्रका रुपमा सञ्चालन अनुमति दिएको गौर नगरका नगरप्रमुख अजय गुप्ताले जानकारी दिए ।


‘विद्यालय सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार गौर नगरपालिकामा सामुदायिक सिकाइ केन्द्र नरहेकाले अर्को व्यवस्था नहुन्जेल सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्डबमोजिम प्रतिकक्षा बढीमा २० बालबालिका सहभागी हुने गरी कक्षा सञ्चालनको अनुमति दिएका हौं’, नगरप्रमुख गुप्ताले भने ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनको गौर नगर कमिटीले पनि आइतबारबाट बोर्डिङ स्कुल सञ्चालन गरिने बताएको छ ।


कोरोना महामारी जारी रहेकाले सबै विद्यालयहरूले आवश्यक सुरक्षा सतर्कता अपनाएर कक्षा सञ्चालन गर्न प्याब्सन गौरले सम्बन्धित सबै विद्यालयहरूलाई अनुरोध गरेको छ ।