close

रौतहटमा सामुदायिक विद्यालयमा धमाधम पढाइ

रौतहटमा सामुदायिक विद्यालयमा धमाधम पढाइ

Trulli
ADVERTISEMENT

रौतहट - रौतहटका सामुदायिक विद्यालय धमाधम सञ्चालन हुन थालेका छन् । रौतहटका विद्यालयले शिक्षा मन्त्रालयको निर्देशनअनुसार वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरे पनि प्रभावकारी नभएपछि स्कुलमै विद्यार्थी भेला गराएर पढाइ सुचारु गरेका हुन् । 


रौतहटका १८ मध्ये ४ स्थानीय तहले  सामुदायिक विद्यालय सञ्चालन गर्ने भएका छन् । चन्द्रपुर र गौर नगरका विद्यालय सञ्चालनमा आइसकेका छन् भने फतुवा विजयपुर र गरुडा  नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा असोज २२ देखि पढाइ हुने भएको छ ।


मंगलबारको नगरपालिका बैठकको निर्णयले सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको फतुवा विजयपुरका नगर शिक्षा संयोजक बुनिलाल यादवले जानकारी दिए । रौतहटमा हाल कोरोना संक्रमण केही घटेकाले सिकाइ सहजीकरण निर्देशिका, ०७७ अनुसार पठनपाठनको तयारी गरिएको उनले बताए ।


‘विद्यार्थीलाई भौतिक दूरी कायम गराएर विद्यालयमै कक्षा सञ्चालन गरिनेछ । प्रतिकक्षा–कोठामा २० विद्यार्थी राख्ने र मास्क, स्यानिटाइजर अनिवार्य गरेका छौं’, फतुवा विजयपुरका नगरप्रमुख गोपाल प्रसाद यादवले भने । 


यस्तै, गरुडा नगरका सामुदायिक विद्यालय पनि २२ देखि नै खुल्ने भएका छन् । १८ स्थानीय तहमध्ये यसअघि चन्द्रपुर र गौर नगरमा सबै सामुदायिक विद्यालय सञ्चालन भइसकेको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनयकुमार सिंहले जानकारी दिए ।