close

सानीभेरीका ५ विद्यालय माविमा स्तराेन्नति

सानीभेरीका ५ विद्यालय माविमा स्तराेन्नति

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - जिल्लाको सानीभेरी गाउँपालिकाका ५ विद्यालयमा कक्षा थप गरिएको छ । गाउँ शिक्षा समितिको बैठकले गाउँपालिकामा रहेका ५ विद्यालयको कक्षा बढुवा गरेको हो । 

 

बैठकले शिव आधारभूत विद्यालय अर्मा काफलबोट र जनकल्याण आधारभूत विद्यालय बाघखोरलाई कक्षा ९ सम्मको अध्यापन अनुमति दिने निर्णय गरेको छ ।

 

यस्तै, बालज्योति माध्यमिक विद्यालय गिठाकोट, शीतल माध्यमिक विद्यालय पक्रैया र भेरीदोभान माध्यमिक विद्यालय चाइनाबगरलाई कक्षा ११ सम्मको अध्यापन अनुमति दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालसिंह विष्टले बताए ।

 

अध्यापन अनुमति दिइएका विद्यालयमध्ये भेरीदोभान माविमा कृषि र शिक्षा विषय, बालज्योति मावि गिठाकोटमा शिक्षातर्फका विषय र शीतल माध्यमिक विद्यालय पक्रैयामा शिक्षातर्फका विषय पढाइको अनुमति दिइएको छ । 


नेपाल सरकारले कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक तहको मान्यता दिएपछि आवेदन दिएका सबै विद्यालयलाई कक्षा थपको अनुमति दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए । 


यस्तै, बैठकले कुनै विद्यालयमा कोभिड-१९ को संक्रमण देखिए सम्बन्धित विद्यालय व्यवस्थापन समितिको सिफारिसमा वडा शिक्षा समितिले आवश्यक निर्णय गर्न सक्ने व्यवस्था मिलाएको छ । 

 

गाउँपालिकाभित्रका विद्यालय अनुगमन गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको छ ।