close

पैसा दिएर बुहारी पढाउन थाले गाउँका सरकार

पैसा दिएर बुहारी पढाउन थाले गाउँका सरकार

Trulli
ADVERTISEMENT

ओखलढुंगा– महिला सशक्तीकरण कसरी हुन्छ भनेर धेरै परियोजना चले । चलिरहेका छन् । हिंसा कम गर्न महिला सशक्तीकरण आवश्यक रहेको निचोड निकालेरै तालिम, गोष्ठी र सेमिनार पनि चलिरहेकै छन् । यस्ता कार्यक्रममा लाखौं बजेट स्वाहा भइसकेको छ । महिला सशक्तीकरणको मुद्दा ओझेलमै छ ।


तर, ओखलढुंगाका २ स्थानीय तहले भने महिला सशक्तीकरण र क्षमता विकासमा फरक कार्यक्रम ल्याएका छन् । २ स्थानीय तहले अध्ययन पूरा नहुँदै घरजम गरेर पढाइ छुटेका बुहारीहरूलाई अध्ययन पूरा गराउन ‘बुहारी छात्रवृत्ति कार्यक्रम’ ल्याएका हुन् ।

 

गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटबाट बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएका ओखलढुंगाका ३ स्थानीय तहमा कार्यान्वयन सुरु भइसकेको छ । मानेभन्ज्याङ, सुनकोसी र चम्पादेवी गाउँपालिकामा बुहारी छात्रवृत्ति कार्यक्रम सुरु भएको छ ।


मानेभन्ज्याङ गाउँपालिकामा बुहारी छात्रवृत्ति पाएर गत आर्थिक वर्षमा १३ बुहारीले माध्यमिक तहको पढाइ पूरा गर्न लागेका छन् । चालू वर्षमा छात्रवृत्तिका लागि आवेदन माग भइसकेको छ ।


यस्तो छात्रवृत्ति महिनाको ५ सयका दरले एकमुष्ठ वर्षको ६ हजार उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले बताए । उनले भने, ‘यस्तो सुविधा पाउन २० वर्ष कटेर घरजम बसाएको, बीचमै पढाइ छुटेको र गाउँपालिकाभित्रकै शिक्षण संस्था, स्कुल तथा क्याम्पसमा अध्ययन गर्ने हुनुपर्छ ।’


कार्यक्रमले आर्थिक अभावमा छुटेको पढाइ पूरा हुने हुँदा सशक्तीकरणका साथै चेतना स्तरको विकास र बालबिहे निरुत्साहित हुने उनको बुझाइ छ ।


यस्तै, खिजीदेम्वा गाउँपालिकामा पनि बुहारी छात्रवृत्ति कार्यक्रम २ वर्षदेखि कार्यान्वयनमा छ । गाउँपालिकाबाट आव २०७५÷७६ मा १५ र आव २०७६÷०७७ मा ९ जनाले छात्रवृत्ति लिएका छन् ।


खिजीदेम्वाले पनि मानेभन्ज्याङकै जस्तो बिहेबारी २० वर्षपारि, गाउँपालिकाभित्रकै शिक्षण संस्थामा अध्ययन गर्ने बुहारीले पाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले महिलाको क्षमता विकास हुने र परिवारसमेत सवल बन्ने अपेक्षा राखिएको खिजीदेम्वाका अध्यक्ष वेदबहादुर रोका बताउँछन् ।


खिजीदेम्वा र मानेभन्ज्याङमा बुहारी छात्रवृत्तिले पढाइ छाडेका बुहारीलाई विद्यालय तानेको छ । चम्पादेवीले सुरु गरेको यो कार्यक्रममा भने सहभागिता न्यून देखिएको छ ।

 

गाउँपालिकाको वडा– ९ का केहीले आवदेन दिए पनि अरुको बुहारी छात्रवृत्तिका लागि आवेदन नपरेको गाउँपालिकाले जनाएको छ । प्रचार–प्रसार र कार्यक्रमको औचित्य नबुझ्दा पनि सहभागिता न्यून भएको हुन सक्ने चम्पादेवीका शिक्षक बलराम फुयाल बताउँछन् ।


महिला सशक्तीकरण र क्षमता विकास शिक्षाबाटै सम्भव हुने भएकाले बुहारी छात्रवृत्ति लक्षित वर्गमा पुग्ने र प्रभावकारी कार्यान्वयन हुन सके क्षमतावान् महिला हिंसाविरुद्धमा आउने महिला अधिकारकर्मी पेमडोमा शेर्पाले बताइन् ।


‘तालिम गोष्ठीले केही सचेतना दिन सकिए पनि विद्यालय तथा क्याम्पस स्तरको पढाइले महिलाको क्षमता विकास हुने र हिंसाका घटनामा पनि कमी आउन सक्छ,’ उनले भनिन् ।