close

सिमकोटका २८ विद्यालयमा बुधबारदेखि पठनपाठन

सिमकोटका २८ विद्यालयमा बुधबारदेखि पठनपाठन

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाभित्रका २८ वटा विद्यालय बुधबारबाट खुल्ने भएका छन् ।

 

हुम्ला उच्च हिमाली जिल्लासँगै मंसिर, पुस र माघमा जाडो बढी हुने र फागुनबाट नयाँ शैक्षिक शत्र शुरु हुने भएका कारण आज बसेको गाउँकार्यपालिकाको बैठकले वुधवार (१९ गते)बाट विद्यालय सञ्चालन गर्ने अनुमति दिएको हो ।


कार्यपालिका पदाधिकारी र सिमकोट गाउँपालिकामा कार्यरत शिक्षकहरुको छलफलपछि बसेको बैठकले विद्यालय सञ्चालनका लागि अनुमति दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।


कोरोनाका कारण गत चैतदेखि बन्द सिमकोट गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरी २८ वटा विद्यालय सञ्चालनमा आउने भएका हुन् । जिल्ला बाहिर रहेका शिक्षकलाई पीसीआर अनिवार्य गरेर जिल्ला प्रवेश गर्नुपर्ने, विद्यालयमा आइसकेपछि एक हप्ता अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय पालिकाले गरेको छ ।


३ पालिकामा पढाइ सुरु

जिल्लाको तल्लो भेगमा रहेको ताँजाकोट, चंखेली, र अदानचुली गाउँपालिकाले आजबाट पठनपाठन सुरु गरेका छन् । कोरोना कहरमा ७ महिना बन्द भएका विद्यालयहरुले मंसिर महिनामा शैक्षिक शत्र सक्नुपर्ने भएका कारण साढे एक महिनाको अवधिमा धमाधम पठनपाठन गर्न थालिएको हो ।


मंसिर महिनामा हुम्लामा वार्षिक परीक्षा हुनुपर्ने हो तर पठनपाठन नभएका कारण चैत महिनामा परीक्षा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।