close

यार्सा बेचेर गुरुबाआमालाई तलब

यार्सा बेचेर गुरुबाआमालाई तलब

Trulli
ADVERTISEMENT

बझाङ–  साइपाल गाउँपालिकाले राजस्व उठाएर ३० स्वयंसेवक शिक्षकलाई तलब खुवाइरहेको छ । राज्यको सेवा–सुविधाबाट वञ्चित पालिकाका चार आधारभूत र तीन माध्यमिक विद्यालयका ३० शिक्षकले गाउँपालिकाको आम्दानीकै भरमा तलब खाइरहेका हुन् ।


गाउँपालिकाभित्रका धुली माध्यमिक विद्यालय धुली, काँडा माध्यमिक विद्यालय काँडा, धलौन माध्यमिक विद्यालय धलौन, तपोवन आधारभूत जिमा, मानसरोवर आधारभूत विद्यालय काया, सुर्मादेवी आधारभूत विद्यालय बलौडी र भवानी आधारभूत विद्यालय बलौडीमा ३० अस्थायी शिक्षकले पढाइरहेका छन् ।   

 
यार्सा तथा अन्य जडीबुटी, भेडाच्यांग्राबाट राजस्व संकलन गरी चौमासिक रुपमा तलब खुवाइरहेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘३० शिक्षकका लागि मासिक साढे ६ लाख रुपैयाँ तलब उपलब्ध गराउँदै आएको छ । गरिब पालिकाको आम्दानी शून्य हुने अवस्था छ,’ उनले भने ।

 

उनका अनुसार जडीबुटी संकलनकर्ता स्थानीयलाई तीन सय, छिमेकीलाई पाँच सय, जिल्लाभित्रकालाई एक हजार, प्रदेशभित्रकालाई एक हजार पाँच सय, प्रदेशबाहिरकालाई तीन हजार राजस्व लिने गरिएको छ ।


यस्तै, भेडाच्यांग्रा गाउँपालिकाबाट बाहिर निर्यात गर्दा प्रतिभेडाच्यांग्रा एक सय र बाहिरबाट गाउँपालिकाभित्र चराउन ल्याउँदा १० रुपैयाँ राजस्व गाउँपालिकाले उठाउँदै आएको छ । यसरी विभिन्न स्रोतबाट उठेको राजस्व रकममध्ये मासिक २ लाख ७० हजार १ सय ६६ रुपैयाँ चौमासिक र वार्षिक ८१ लाख १८ हजार पाँच सय तलबमै खर्च हुने गरेको छ ।


यस पटक कोरोनाका कारण जडीबुटी संकलन गर्न जानेहरू साइपालमा नगएकाले राजस्व नउठेको अध्यक्ष धामीले बताए । राजस्वमा कमी आउँदा यस वर्ष गाउँपालिकाको सञ्चित कोषमा रहेको रकमबाट स्वयंसेवक शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।