close

आठबीसले हटाएका डेढ सय करार शिक्षकको पुनर्नियुक्ति

आठबीसले हटाएका डेढ सय करार शिक्षकको पुनर्नियुक्ति

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले करार सम्झौता रद्ध गरेका डेढ सय शिक्षक, कर्मचारीलाई पुनः नियुक्त गरेको छ । कोरोनाका कारण करार सम्झौता रद्ध गरिएका स्वयंसेवक शिक्षकहरूको  करार सम्झौता आठ महिनापछि पुनः थपिएको हो । 

 

नगरपालिका आफंैले नियुक्त गरेका शिक्षक तथा कर्मचारीको करार सम्झौता गत वैशाखमा रद्ध गरेको थियो । नगरपालिकाले राजस्व बाँडफाँड शीर्षकको बजेट नआएको र विद्यालयसमेत बन्द रहेपछि एक सय ६६  करार शिक्षक, कर्मचारीलाई हटाएको थियो ।

 

सम्बन्धित विद्यालय र नगर शिक्षा, युवा तथा खेलकुद शाखाबाट गरिएको कार्यसम्पादन मूल्यांकनबाट सफल भएका एक सय ४५ जनाको करार सम्झौता नवीकरण गर्ने नगर शिक्षा समितिको ३० असोजको निर्णयलाई १ कात्तिकमा बसेको ५३ औं नगरकार्यपालिका बैठकले पारित गरेको हो । 

 

यस्तै, सहिद स्मृति नमुना माध्यमिक विद्यालयमा कार्यरत पाँच शिक्षक, कर्मचारीको करार सम्झौता पनि थप गरिएको छ । उनीहरूको २१ असोज र अन्य डेढ सय शिक्षक, कर्मचारीको १ कात्तिकदेखि लागू हुने गरी करार सम्झौता नवीकरण भएको नगर शिक्षा शाखाले जनाएको छ ।

 

दरबन्दी तथा विद्यार्थी संख्याका आधारमा शिक्षक नहुँदा पठनपाठनमा बाधा पुगेपछि नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा एक सय ८२ शिक्षकलाई करार स्वयंसेवकका रुपमा नियुक्त गरेको थियो । 

 

बजेट अभाव भएको र तलब भत्ता खुवाउन नसकिने भन्दै नगरपालिकाले गत वैशाखमा प्रधानाध्यापक रहेका तथा अन्य केही गरी १६ शिक्षक कर्मचारीबाहेक एक सय ६६ जनाको सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो । 


करार सम्झौता रद्ध भएकामध्ये एक सय ४५ जनालाई मात्र पुनर्नियुक्ति गरिएको हो । ‘बाँकी २१ मध्ये केहीको कार्यसम्पादन मूल्यांकन राम्रो नभएकाले हटाइएको र केहीले आफैं छाडे’, नगरप्रमुख तथा नगर शिक्षा समिति संयोजक गोर्खबहादुर केसीले भने ।

 

आन्तरिक स्रोत तथा अन्य सरकारबाट आउने रकमबाट तलब भत्ता खुवाउने गरी एक सय ४५ शिक्षकलाई पुनः नियुक्त गरिएको उनले बताए । 


नगरपालिकाले नगरमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब, भत्ता भुक्तानी दिन चालू आर्थिक वर्ष ०७७/७८ को हालसम्म प्राप्त राजस्व रकम अपुग भएकाले धरौटी खाताबाट सापटी लिई तलब, भत्ता तथा पारिश्रमिक भुक्तानी दिइएको छ ।