close

कहिले खुल्छन् काठमाडौंका विद्यालय ? यस्तो छ स्थानीय सरकारको तयारी

कहिले खुल्छन् काठमाडौंका विद्यालय ? यस्तो छ स्थानीय सरकारको तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले कोरोना जोखिमको मूल्यांकन गरी स्थानीय तहलाई विद्यालय खोल्ने अधिकार दिएसँगै स्थानीय सरकारहरू छलफलमा जुटेका छन् । कतिपय स्थानीय तहले पठनपनठन नै सुरु गरेका छन् भने कतिपय अन्योलमै छन् ।

 

शंखरापुरमा पढाइ सुरु

 

शंखरापुर नगरपालिकाले पठनपाठन सुरु गरेको छ भने अन्य नगरपालिका छलफलमा छन् । शंखरापुर नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पठनपाठन संचालन गरेको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डमा रहेर विद्यालय संचालन गरिएको नगरपालिकाले जनाएको छ ।


कोरोना संक्रमणको जोखिम कम भएकाले विद्यालय संचालन गरिएको नगरपालिकाले जनाएको छ । संस्थागत विद्यालयहरूले अनलाइनबाट पढाइरहेका छन् । नगरपालिकाभित्रका ११ वटा सामुदायिक विद्यालयमा पठनपाठन भइरहेको शंखरापुर नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले जानकारी दिइन् । सबैतिर इन्टरनेटको पहुँच नभएकाले स्कुल नै खोलेर पठनपाठन सुरु गरिएको उपप्रमुख श्रेष्ठको भनाइ छ ।

 

स्यानिटाइजर, मास्कको प्रयोग गरी आलोपालो विधिमार्फत विद्यालय संचालन गरिरहेको छ । कोरोना भाइरसको जोखिम नभएका तथा कम जोखिम भएका स्थानीय तहका विद्यालय आलोपालो विधिमार्फत् संचालन गर्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी यसरी विद्यालय संचालन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको हो ।


दक्षिणकालीमा आजदेखि सुरु


दक्षिणकाली नगरपालिकाले आज अर्थात आइतबारदेखि विद्यालय संचालन गर्ने भएको छ । आवश्यक सरसफाइ र सामाजिक दूरी कायम गरी खोल्न लागिएको नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए । कोरोनाको विषयलाई कोर्षकै रूपमा ३० मिनेट जानकारी दिइनेछ साथै आलोपाले गरी विद्यालय संचालन गर्ने तयारी रहेको नगरप्रमुख बस्नेतले जानकारी दिए ।    


कीर्तिपुर छलफलमै


काठमाडौंको कीर्तिपुर नगरपालिका विद्यालय खोल्ले विषयमा छलफलमै छ । कोरोनाको जोखिम मूल्यांकन गर्दै अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायतसँग छलफलका क्रममा रहेको नगरप्रमुख रमेश महर्जनले जानकारी दिए ।


गोकर्णेश्वरमा १६ गतेदेखि


गोकर्णेश्वर नगरपालिकाको कार्यपालिका बैठकले १६ असोजदेखि विद्यालय संचालन गर्ने निणर्य गरेको थियो । सरकारले स्थानीय तहलाई नै विद्यालय संचालनको अधिकार दिएको छ । सोमबार एक पटक बैठक बसेर अगाडि बढ्ने गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले जानकारी दिइन् ।     


कागेश्वरी मनोहरा पनि छलफलमै

 

कागेश्वरी मनोहरा नगरपालिका जोखिम मूल्यांकन र छलफलमा छ । नगरपालिका फोरमको बैठक बसेर मात्र अगाडि बढ्न सकिने कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

 

चन्द्रागिरि अन्योलमा


चन्द्रागिरि नगरपालिकाले विद्यालय खोल्न विषयमा कमिटी नै निर्माण गरेको छ । सो कमिटीले जोखिम मूल्यांकन गरी खोल्ने तयारी रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।


नागार्जुन भन्छः सरकारले दिएन


नागार्जुन नगरपालिकाले यसअघि पनि विद्यालय संचालन गरेको थियो । सरकारले नखोल्न निर्देशन दिएपछि बन्द गरिएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए । 'छलफल गरी खोल्ने तयारीमा छौँ', उनले भने ।


कामपामा जोखिम नै बढी

 

काठमाडौं महानगरपालिका कोरोना जोखिम मूल्यांकन र छलफलकै चरणमा छ । महानगरपालिकाभित्र जोखिम बढी छ । त्यसैले स्वास्थ्य विज्ञ, शिक्षाविद्लगायतसँग छलफल गरेर मात्र विद्यालय खोल्ने निर्णय गर्ने सकिने काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । नगरपालिका फोरमको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।


गत २२ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले ‘कोभिड- १९ को सन्दर्भमा विद्यालय संचालन कार्यविधि, २०७७’ संशोधन गरी जोखिम मूल्यांकन गरी विद्यालय खोल्ने अधिकार स्थानीय सरकारलाई दिएपछि विद्यालय खोल्ने छलफल सुरु भएको हो ।