close

बेँसीशहरका १६ विद्यालयलाई स्यानिटरी प्याड

बेँसीशहरका १६ विद्यालयलाई स्यानिटरी प्याड

Trulli
ADVERTISEMENT

लमजुङ - लमजुङको बेँसीशहर नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयले स्यानेटरी प्याड पाएका छन् ।  नगरपालिकाले १३ वटा माध्यमिक विद्यालय र तीनवटा आधारभूत विद्यालयलाई स्यानेटरी प्याड प्रदान गरेको हो । 


विद्यालयमा अध्ययनरत छात्राको सहजताका लागि नगरपालिकाले स्यानिटरी प्याडको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी अधिकारीका अनुसार विद्यालयमा अध्ययरत छात्रा महिनावारी भएकै कारण विद्यालय जानबाट बञ्चित हुनुपरेको अवस्था रहेकाले उनीहरूका लागि स्यानिटरी प्याडको व्यवस्था गरिएको हो । 


महिनावारीका कारण घरमै बस्नुपर्ने र विद्यालयमा जान नपाउँदा पढाइ प्रभावित हुने भएकाले छात्राका लागि प्याडको व्यवस्था भएको उनले बताइन् । नगरपालिकाले विद्यालयलाई प्रदान गरेको प्याड विद्यालयले समिति बनाएर छात्रालाई वितरण गर्नेछ ।


स्यानिटरी प्याड खरिद गर्न आर्थिक अभाव भएका छात्राको महिनावारीका कारण पढाइ छुट्ने भएकाले यसका लागि सरकारले बजेटको व्यवस्था गरेको छ । गत वर्ष खरिद गरिएको प्याड यस वर्ष वितरण गरिएको र यस वर्ष पनि कार्यक्रम रहेको अधिकारीले बताइन् । अहिले नगरपालिकाले माध्यमिक र आधारभूत विद्यालयमा मात्र वितरण गरे पनि प्राथमिक विद्यालयमा पनि आवश्यक पर्ने भएकाले वितरण गरिने बताउनुभयो ।


नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालका अनुसार गत वर्षको पाँच लाख रुपैयाँ बजेटबाट स्यानिटरी प्याड खरिद गरी विद्यालयहरूलाई वितरण गरिएको हो । १६ विद्यालयमा अध्ययरत एक हजार ७२५ छात्राका लागि नौ हजार ६५५ वटा प्याकेट प्याड वितरण गरिएको छ । १६ विद्यालयका कुल विद्यार्थी तीन हजार ३५ जनामध्ये छात्रालाई प्याडको व्यवस्था गरिएको हो ।


महिनावारीको समय छात्रालाई विद्यालय आउन असहज हुने भएकाले नगरपालिकामार्फत प्याडको व्यवस्था गरिएको चिलुवालले बताए । विद्यालयको मागअनुसार नगरपालिकाले प्याडको व्यवस्था गर्नेछ । शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीका अनुसार नगरपालिकाले दिएको स्यानिटरी प्याड विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा बनेको वितरण समितिले व्यवस्थापन गर्नेछ । छात्रालाई महिनावारी भएको समय सहज रूपमा विद्यालयमै प्याडको व्यवस्था हुनेछन् ।