close

कुचिबाङ माविका शिक्षकले १६ महिनासम्म तलब पाएनन्

कुचिबाङ माविका शिक्षकले १६ महिनासम्म तलब पाएनन्

Trulli
ADVERTISEMENT

रुकुमपूर्व- रुकुमपूर्वको भूमे गाउँपालिका- ८ कुचिबाङ माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकले १६ महिनासम्म तलब पाएका छैनन् । कुचिबाङका तीन जना निजी स्रोतका शिक्षकले १६ महिनादेखि तलब पाउन नसकेका हुन् ।


गत वर्षको असारदेखि कात्तिकसम्म गरी १६ महिनाको तलब नपाउँदा आफूहरूलाई समस्या भएको शिक्षक शशिराम खत्रीले बताए । कुचिबाङ माविमा बालविकासदेखि १० कक्षासम्म पठनपाठन भइरहेकामा निजी स्रोतका शिक्षक तीन जना छन् ।


निजी स्रोतका तीनै शिक्षकले २०७६ असार देखि २०७७ कात्तिकसम्मको तलब नपाएको शिक्षक खत्रीले बताए ।


‘कोरोना संक्रमण जोखिमका बेला हामीले काम गरेबापतको पारिश्रमिक पाउन नसक्दा घर खर्च चलाउन समस्या भइरहेको छ । निजी स्रोतका शिक्षकको तलब बेहोर्ने जिम्मा लिएको विद्यालयले अहिलसम्म तलब दिएन’, शिक्षक खत्रीले भने ।


निजी स्रोतका शिक्षकलाई तलब दिन कोरोना संक्रमणका कारण  गाउँपालिकाको विभिन्न आय स्रोतको रकम उठ्न नसक्नु रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बुढाले जानकारी दिए ।


‘निजी स्रोतका शिक्षकलाई तलब खुवाउन गाउँको मुख्य स्रोत घर छाउने ढुंगा बिक्रीबापतको रकम, सामुदायिक वनको आम्दानी, विभिन्न व्यापारी, व्यवसायी एवं अन्य व्यक्तिको सहयोग रकम र गाउँको अन्य लेनदेनबापतको रकमले निजी स्रोतका शिक्षकलाई तलब खुवाउने गरिएकामा ती निकायले विद्यालयलाई उपलब्ध गराएनन् । सोही कारण निजी स्रोतका शिक्षकलाई तलब दिन विलम्ब भएको हो’, अध्यक्ष बुढाले भने ।


केही रकम संकलन भइरहे पनि पूरै नउठेपछि कसरी पूर्ति गर्न सकिन्छ भनेर विद्यालयमा छलफल गरिँदै आएको उनको दाबी छ ।


विज्ञान र अंग्रेजी विषयका शिक्षकलाई मासिक २२ हजार र एक स्वास्थ्य विषयका शिक्षकलाई मासिक आठ हजार रुपैयाँ तलब दिनुपर्छ । १६ महिनासम्म गरी आठ लाख ३२ हजार रुपैयाँ पुगेको विद्यालयका लेखापाल दिल्लीबहादुर बीसीले बताए ।


‘शिक्षकको तलबका लागि साविक रुकुमकोट गाविस वडा- ४ स्थित कुचिबाङ, मैबाङ, झिम्का र पाछाबाङलगायत गाउँका ३५० घरधुरीबाट विद्यालयको निर्णयअनुसार दुई हजार रुपैयाँका दरले संकलन गरेर हाललाई शिक्षकको तलब पूर्ति गर्न लागेका छौँ’, बीसीले भने ।


सरकारले शिक्षक दरबन्दी पदपूर्ति गर्न नसकेपछि गाउँपालिकाले नै निजी स्रोतका शिक्षक राखेपछि तलब खुवाउन समस्या पर्दै आएको छ ।