close

चिसो भुइँमा बसेर एबिसीडी...

चिसो भुइँमा बसेर एबिसीडी...

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका वडा– ९ मा रहेको रत्न माध्यमिक विद्यालयको प्राथमिक तहका विद्यार्थीले चिसो भुइँमा बसेरै अंग्रेजी माध्यममा पढ्दै आएका छन् ।

 

माध्यमिक तहमा पर्याप्त भौतिक संरचना भए पनि प्राथमिक तहमा भौतिक संरचना नहुँदा चिसो भुइँमै बसेर पढ्नु परेको साना नानीबाबु बताउँछन् ।


 
प्राथमिक तहलाई बालमैत्री घोषणा गरिए पनि विद्यार्थीहरूलाई बसाइ व्यवस्थापनलगायतमा समस्या हुँदै आएको छ । ‘२०७३ बाट अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरिएको हो । अहिले कक्षा ४ सम्म सञ्चालन भइरहेको छ । कक्षा–कोठा अभावका कारण विद्यार्थीहरूको गृहकार्य हेर्न पनि समस्या छ’, प्रधानाध्यापक जोगमेहर बुढाले भने ।


 
विद्यार्थीहरूको चाप बढी भएपछि कक्षाकोठा नपुगेको शिक्षिका कुन्ति थापाले सुनाइन् । ‘कक्षाकोठा अँध्यारो हुँदा पढाउन समस्या छ भने बर्खायाममा चुहिएर पढाउनै सकिँदैन । हिउँदमा कक्षाकोठाका  झ्याल र ढोका नहुँदा चिसोले झनै गाह्रो पर्ने गरेको छ’, थापाले भनिन् ।  प्रधानाध्यापक बुढाका अनुसार विद्यालयको समस्याबारे पटक–पटक व्यवस्थापन समिति र स्थानीय नगर सरकारलाई जानकारी गराउँदा पनि बेवास्ता भएको छ ।