close

शैक्षिक सत्र सकिनै लाग्दा खुले मुगुका विद्यालय

शैक्षिक सत्र सकिनै लाग्दा खुले मुगुका विद्यालय

Trulli
ADVERTISEMENT

मुगु– हिमाली जिल्ला मुगुका विद्यालयहरूमा धमाधम पढाइ सुरु भएको छ । करिब ९ महिनासम्म बन्द रहेका मुगुका विद्यालयहरूमा शैक्षिक सत्र सकिनै लाग्दा धमाधम पढाइ भएको हो ।


मुगुका ४ स्थानीय तहमध्ये पहिलो पटक मुगुमकार्मारोङ गाउँपालिकाले कोरोना कहरका बीच विद्यालय सञ्चालन गरेको थियो । मुगुमा शैक्षिक सत्र चैत-वैशाखमा हुने हुँदा ५ महिनाभित्र पाठ्यक्रम पूरा गर्ने गरी विद्यालयमा पठनपाठन सुरु गरिएको हो ।


५ महिने अवधिभित्र पनि पुस र माघमा कर्णालीका प्रायः जिल्लामा भारी हिमपात हुने भएकाले विद्यालय बन्द हुने गरेका छन् ।


३ महिनासम्म पढाइ हुने भएपछि कोर्स नसकिने विद्यार्थीहरू बताउँछन् । महाकाली माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा पञ्चकली विकका अनुसार यो ३ महिने अवधिमा आधा पनि कोर्स सकिँदैन । उनले भनिन्, ‘यसपटक राम्ररी पढ्न पाएनौँ । परीक्षा पनि नजिकिएको छ । कोर्ष सकिएको छैन ।’

 

सोरु गाउँपालिकाले १५ मंसिरदेखि पालिकाभित्रका सबै विद्यालय सञ्चालनमा ल्याएको छ । १२ मंसिरमा बसेको गाउँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।


कोरोनाका कारण करिब आधा वर्षसम्म बन्द रहेका विद्यालयहरूमा स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्ने निर्णय भएको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले जानकारी दिए ।


विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाउने भनिए पनि गाउँपालिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएका छैनन् भने सामाजिक दूरी कायम गरेको पनि देखिँदैन । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले पनि १८ मंसिरबाट नगरभित्रका सामुदायिक तथा निजी विद्यालय खुलाएको छ ।

 

‘नगरपालिकाले विद्यालयमा अनिवार्य सुरक्षा मापदण्ड अपनाएर पढाइ सञ्चालनका लागि निर्देशन दिएको छ’, छायानाथ रारा नगरपालिका शिक्षा शाखाका प्रमुख खड्गबहादुर रोकायाले भने ।