close

कोरोना रोकथाममा मन्त्रालयबीच नै छैन समन्वय, जोखिम मोलेर पढाइ

कोरोना रोकथाममा मन्त्रालयबीच नै छैन समन्वय, जोखिम मोलेर पढाइ

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले कोरोना जोखिम मूल्यांकन गरी आफ्नो नगर क्षेत्रभित्रका विद्यालय खोल्ने/नखोल्ने जिम्मेवारी स्थानीय तहलाई दियो । स्थानीय तहहरूले हचुवाका भरमा मूल्यांकन वा अनुगमन गरे । काठमाडौँ महानगरबाहेकका पालिकाले विद्यालयले पठनपाठन सुरुसमेत गरिसकेका छन् ।

 

शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा, चन्द्रागिरि, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, दक्षिणकाली, कीर्तिपुर, नागार्जुन नगरपालिकाले कोरोना अवस्थाको प्रारम्भिक मूल्यांकन गरी विद्यालय सञ्चालन गरे ।

 

स्थानीय तहले पनि विद्यालय खोल्ले जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिएको थियो । विद्यालयहरूले अभिभावक भेला गरी बालबालिकाहरू विद्यालय पठाइदिन आग्रह गरे । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय खोल्ने प्रतिबद्धता जनाए ।

 

मास्क, स्यानिटाइजरको प्रयोग गरी दुई सिफ्टमा विद्यालय सञ्चालन भइरहेका छन् । एउटा सिटमा २ जना मात्र राखेर विद्यालय सञ्चालन गरेका छन् ।

 

विद्यालयहरूले स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्छु भनी प्रतिबद्धता जनाए पनि भौतिक संरचना भने पर्याप्त छैन । पहिलाकै संरचनामा केही थप नगरी पठनपाठन सुरु भएको छ ।

 

अस्थायी शौचालय, कक्षाकोठाको निर्माण गर्न सकेका छैनन् । दुई सिफ्ट गरेर पठनपाठन सुरु गरे पनि कोरोना जोखिम भने कम हुन सकेको छैन । शिक्षकहरूले भौतिक दूरी कायम गराए पनि विद्यार्थीहरूले त्यसको पालना गर्दैनन् । कक्षामा बसुन्जेल र शिक्षकको अगाडि मात्र स्कुलको नियम पालना गर्ने गरेको स्वयं विद्याथीहरू बताउँछन् ।

 

यसो भन्छन् विज्ञ

 

हाल संख्यामा हेर्दा कोरोना संक्रमणको दर केही घटेजस्तो देखिए संक्रमणको दर भने नघटेको विज्ञहरू बताउँछन् । सशुल्क परीक्षण गर्नेको संख्या निकै कम छ । सरकारले निःशुल्क परीक्षण रोकेकाले केही जागरुक नागरिकले मात्र शुल्क तिरेर परीक्षण गराउने गरेका छन् ।

 

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा परीक्षण गराउनेहरूको मात्र तथ्यांक हुन्छ । यसले तथ्यांकमा भन्दा समाजमा संक्रमणको दर बढी हुनु स्वाभाविक भएको जनस्वाथ्यविज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् । उनी भन्छन्, ‘यस्तो अवस्थामा विद्यालय खोल्दा संक्रमण अझै फैलिने र यसले भयावह रूप लिन सक्छ । ९ महिनासम्म नखुलेका विद्यालयहरू अझै २ महिना रोक्दा केही बिग्रने थिएन ।’


शिक्षा मन्त्रालयले विद्यालय खोल्ने/नखोल्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले पनि सम्बन्धित विद्यालयलाई नै सो जिम्मेवारी दिएकाले विद्यालय धमाधम खुले ।

 

यसो भन्छ स्वास्थ्य मन्त्रालय

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोना भाइरसको जोखिम अझै नघटेको अवस्थामा देशभर विद्यालय खुल्न थालेकामा चासो देखाएको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेका ४ जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको थियो ।


काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि संक्रमितको संख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह गरेको हो ।


मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अन्य जिल्लामा केही सहज अवस्था भए पनि उपत्यकाका ३ जिल्ला र कास्कीमा भने विद्यालय पुनः सञ्चालनमा ल्याउन नहुने बताएका छन् ।


उनले देशभरका कुल संक्रमितमा ४० देखि ६० प्रतिशत उपत्यकाका ३ जिल्लाकै भएका कारण यो अवस्थामा विद्यालय सञ्चालन गरेर जोखिम उठाउन नहुने बताउँदै यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिए पुसमा कोरोनाको जोखिमको अवस्था भयावह हुन सक्ने तर्क गरे ।

 

यी दुई सरकारी निकायको बीचमा समन्वय नहुँदा अभिभावकहरू भने अन्योलमा परेका छन् । उनीहरूलाई ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भएको छ ।

 

कागेश्वरी मनोहरा–७ की सरिता चालिसे भन्छिन्, ‘नानीलाई स्कुल पठाऊँ भने कोरोनाको डर घटेको छैन भनेर स्वास्थ्य मन्त्रालयले दिनदिनै भनेको भन्यै छ, नपठाऊँ त छोरीको पढ्ने बानी नै हराइसक्यो । अब त खेल्नतिरै मन छ ।’ ९ महिनासम्म विद्यालय बन्द हुँदा र अनलाइन कक्षा पनि प्रभावकारी नहुँदा बालबालिकाको पढाइ बिग्रेकामा उनीहरू चिन्तित थिए ।