close

महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने

महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोनाका कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग गरेको छलफलपछि यस्तो निष्कर्षमा पुगेको हो । 


छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै शहरमा पनि कोरोनाका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोरोना नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्नु नहुनेमा जोड दिए ।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसमसमेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरूलाई प्रभावकारी बनाएर केही समयपछि मात्र खोल्दा राम्रो हुने धारणा राखे । 


‘अहिले जाडो मौसम छ, यो समयमा बिदा पनि हुन्छ’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्र पुस महिनाभित्रमा ५० हजारको एन्टिजेन टेस्ट गर्ने भनेको छ  । यस बीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाऔँ ।’ 


उनले बालबालिकाले स्वास्थ्य मापदण्ड आफैँ पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पूरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्नेमा जोड दिए । 


स्वास्थ्य मन्त्रालयका महानिर्देशक महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करिब ५० हजारको एन्टिजेन टेस्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्र अघि बढ्न सुझाव दिए ।

 

काठमाडौं शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौंका ११ मध्ये नौवटा स्थानीय तहले विद्यालय संचालन गरेको भन्दै विद्यालय संचालन गरेकैले कोरोना फैलिएको देखिए पनि सरोकारवालसँग छलफल गरेर मात्र अघि बढ्दा राम्रो हुने बताए । 


काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाला निकायसँग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्र निर्णयमा पुग्ने बताए । ‘आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय संचालन गर्न हतार गर्नु नहुने सुझाव दिएको छ’, उनले भने, ‘यस बीचमा हामी निरन्तर छलफलमा रहन्छौँ । तयारी पनि अघि बढाइरहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्र विद्यालय खुला गर्छौं । अहिले तत्कालचाहिँ खुल्ने अवस्था रहेन ।’