close

कृषि पढ्ने विद्यार्थीलाई साकेलाको छात्रवृत्ति

कृषि पढ्ने विद्यार्थीलाई साकेलाको छात्रवृत्ति

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।


गाउँसभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्राविधिकतर्फ तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्र/छात्रालाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गर्ने भएको हो ।


तीन वर्षमा दस जना छात्र/छात्राका लागि २० लाख रुपैयाँ खर्चिने गरी प्राविधिक कृषि विषयका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । छात्रवृत्ति गाउँपालिकाभित्रका स्थायी बासिन्दाले मात्र पाउने उनले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर २ रतन्छास्थित साकेला माविमा सञ्चालन भइरहेको ३ वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्र/छात्रालाई लक्षित गर्दै गाउँपालिकाले छात्रवृत्ति कार्यक्रम ल्याएको हो ।


‘व्यावसायिक कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न र युवा पुस्तालाई व्यावसायिक खेतीमा प्रोत्साहित गर्न बाली विज्ञानका छात्र/छात्रालाई छात्रवृत्तिमार्फत सहयोग गर्ने तयारी छ’, गाउँपालिका अध्यक्ष खड्काले भने ।


छात्रवृत्ति कार्यविधि पास गरेरै गाउँपालिकाका पाँचवटै वडाका दुई/दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष खड्काले बताए ।


गाउँपालिकाले छात्रवृत्ति स्वरूप पहिलो वर्ष जनही ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ भने दोस्रो र तेस्रो वर्ष यस्तो रकम बढाउँदै लैजानेछ ।


कृषि बाली विज्ञान विषय अध्ययनका लागि खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि साकेला माविले २०७५ सालदेखि तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय पढाउने अनुमति पाएको हो ।


वडाको सिफारिसमा विपन्न, महिला, दलित तथा जेहेनदार छात्र/छात्रालाई प्राथमिकता दिएर छात्रवृत्ति उपलव्ध गराइनेछ । छात्रवृत्तिका लागि छानिएका विद्यार्थीको एकमुष्ट छात्रवृत्ति रकम विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था मिलाइने अध्यक्ष खड्काले जानकारी दिए ।


गाउँपालिकाले छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन २ पुसमा सूचना जारी गरेको छ । छात्रवृत्ति प्राप्त गर्न सम्बन्धित तहमा भर्ना भएर अध्ययनरत रहेको सिफारिस र छात्रवृत्ति प्रदान गर्नुपर्ने आधारसहितको सम्बन्धित वडाको सिफारिस पेस गर्न भनिएको छ ।