close

सिस्ने हिमालको बखान अब पाठ्यपुस्तकमा

सिस्ने हिमालको बखान अब पाठ्यपुस्तकमा

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ भट्टेचौरको नवज्योति माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत महेन्द्र बुढा आँखै अघिल्तिरको सिस्ने हिमालसँगै लडीबुडी गर्दै हुर्किए ।


विद्यालयको आँगनबाटै देखिने सिस्ने हिमाल उनले हेर्ने मात्रै होइन, अहिले यसबारे पढ्न पनि थालेका छन् । पाठ्यक्रममा समावेश भएपछि चालू शैक्षिक सत्रदेखि उनले यसबारे पढ्न पाएका हुन् । परिचय, उचाइ र अवस्थितिबारे पढ्दा उनलाई सिस्ने हिमालबारे थप प्रस्ट हुन सघाउ पुगेको छ ।


सिस्नेको वडा नम्बर ५ स्थित रुक्मिणी मावि कक्षा ६ मा अध्ययनरत विकास खड्का पनि सिस्ने हिमाल हेरेर मात्र नभई पढेर बुभ्mन सक्ने भएका छन् ।

आफ्ना ठाउँगाउँमा भएका ताल, तलैया, हिमाल, गुफा, मन्दिर तथा चाडपर्व, रीतिरिवाजबारे फोटोसहित किताबमा पढ्न पाएकामा रमाइलो लागेको उनले सुनाए । यसअघि आफ्ना गाउँठाउँका विभिन्न आयामबारे उनीहरूले सुन्दै आएका थिए । तर, अहिले पुस्तकमै पढ्न पाएपछि विद्यार्थी उत्साही छन् ।


स्थानीय स्तरका प्रमुख पर्यटकीय स्थल, धार्मिक, सांस्कृतिक सम्पदा तथा अन्य विषयवस्तुबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले यस वर्षदेखि गाउँपालिकाले ‘हाम्रो सिस्ने’ नामक पाठ्यपुस्तक तयार गरी पाठ्यक्रममा राखेको छ ।


गाउँपालिकाभरका १६ विद्यालयमा चालू वर्षदेखि कक्षा ६ मा यो पुस्तक पढाइ भइरहेको छ । आगामी वर्ष कक्षा ७ र ८ मा पनि यसलाई लागू गरिने गाउँपालिकाले जनाएको छ ।


कक्षा ७ र ८ का लागि पनि पाठ्क्रम निर्माण भइसकेको छ । त्यसका आधारमा पाठ्यपुस्तक बन्नेछ । किताबमा गाउँपालिकाको जनसंख्या, वडा संख्या, जनप्रतिनिधिलगायत अन्य विषयवस्तु पनि समावेश छन् ।


विद्यार्थीको प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणविज्ञ टोलीका संयोजक चन्द्रबहादुर मल्लले बताए । ‘यसले विद्यार्थीलाई आफ्नै गाउँठाउँबारे सिक्न अवसर र प्रेरणा मिलिरहेको छ’, रुक्मिणी माविका शिक्षकसमेत रहेका उनले भने, ‘गाउँपालिकाले स्थानीय अवस्थाको जानकारी गराउन पाठ्यक्रम तयार गर्नु सराहनीय छ ।’


यो पुस्तक हाल सातामा चार पाठ्यभार अर्थात् ४ घन्टा पढाइ भइरहेको छ । प्राथमिक शिक्षा पाठ्यक्रम योजना, २०४९ मा स्थानीय विषयवस्तु समेटेर पाठ्यपुस्तक बनाई लागू गर्ने व्यवस्था छ ।


धेरै ठाउँमा पाठ्यक्रम बनाए पनि निरन्तर पठनपाठन नभएको देखिएको छ । तर, यसलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष एवं शिक्षा समिति संयोजक कुमारी बरालले बताइन् ।


कोरोना महामारीका कारण विद्यालय ढिलो खुले पनि खुलेकै दिनदेखि स्थानीय पाठ्यपुस्तक पठनपाठन भइरहेको उनले जानकारी दिइन् । ‘यसले स्थानीय सम्पदा र पूर्वाधारबारे नयाँ पुस्तालाई जानकारी मात्रै मिल्दैन, प्रचारसमेत हुन्छ’, उनले भनिन् ।