close

काठमाडौंका स्थानीय सरकार : क-कसले बनाए स्थानीय पाठ्यपुस्तक

काठमाडौंका स्थानीय सरकार : क-कसले बनाए स्थानीय पाठ्यपुस्तक

Trulli
ADVERTISEMENT

काठमाडौैं- स्थानीय निकायमा जनप्रतिनिधि आएको झन्डै ४ वर्ष पुग्नै लागेको छ । निर्वाचनका समय जनतालाई विकासदेखि निकाससम्म बनाउने आश्वासन दिएर निर्वाचित भएका जनप्रतिनिधि कार्यकालको अन्त्यतिर भने तात्तिएजस्तो देखिएको छ । 

 

स्थानीय सरकार सञ्चालन ऐनमै स्थानीय सरकारले नगर क्षेत्रभित्रलाई पहिचान गराउन आफ्नो पाठ्यपुस्तक निर्माण गर्न सक्ने व्यवस्था छ । निर्वाचनका बेला सबैजसो स्थानीय निकायका उम्मेदवारले आफ्नो ठाउँगाउँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व झल्कने पाठ्यपुस्तक तयार गरी अध्यापन गराइने वचन दिएका दिए । 

 

कतिपयले त स्थानीय भाषाको लिपिकै अनुसन्धान गरी पाठ्यपुस्तक बनाइने प्रतिबद्धतासमेत जनाएका थिए । साढे ३ वर्षसम्म स्थानीय पाठ्यपुस्तक निर्माणमा खासै केही नगरेका काठमाडौंका स्थानीय सरकारले हाल आएर देखाउनकै लागि भए यसमा रुचि देखाएका छन् । 


काठमाडौं जिल्लाका कतिपय स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् भने कतिपय निर्माणको अन्तिम तयारीमा छन् । 


काठमाडाैं महानगरमा स्थानीय पाठ्यपुस्तकबाट पढाइ


काठमाडौं महानगरले महानगर क्षेत्रभित्रका शैक्षिक संस्थामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गरेको छ । 


महानगरअन्तर्गत सञ्चालित सबै विद्यालयमा शैक्षिक सत्र २०७७ देखि आधारभूत तह (कक्षा १ देखि ८ सम्म) मा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गरिएको हो ।


शंखरापुर नगरपालिकाको पनि आफ्नै पाठ्यपुस्तक

 

शंखरापुरले नगरभित्रका विद्यालयमा स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । स्थानीय पाठ्यपुस्तकमा नगरपालिकाको चिनारीका साथै भौगोलिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, आर्थिक, ऐतिहासिकलगायत विषय समेटिएको छ ।

 

हाल कक्षा १ को मात्र पठनपाठन सुरु गरिएको छ भने ८ सम्म सञ्चालन गर्ने तयारी छ । नगरपालिकाका कार्यक्रममा राष्ट्रिय गानपछि गाउने गरी नगर गीत सो पुस्तकको अन्तिम पृष्ठमा राखिएको छ । 


गोकर्णेश्वर नगरपालिका 


गोकर्णेश्वर नगरपालिकाले गत आर्थिक वर्षदेखि नै स्थानीय पाठ्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाको पहिचान झल्कने गरी स्थानीय पाठ्यपुस्तकमा ऐतिहासिक सम्पदा, भौगोलिक अवस्थालगायत विषय समेटिएको छ । 

तारकेश्वर नगरपालिका


तारकेश्वर नगरपालिकाले आफ्नै पाठ्यपुस्तक लागू गरेको छ । नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यपुस्तकमा नगरपालिकाको चिनारी, काम, कर्तव्य र अधिकार, परम्परागत संस्कृति, सम्पदा, पर्यटन, इतिहासलगायत विषय समेटिएको छ । तारकेश्वरले कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक लागू गरेको छ । 

 

कागेश्वरी मनोहरा नगरपालिका 

 

कागेश्वरी मनोहराले स्थानीय पाठ्यपुस्तक निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । नगरपालिकाको कला, संस्कृतिलगायत विषय पाठ्यपुस्तकमा समेटिने नगरपालिकाले जनाएको छ ।

 

त्यस्तैगरी दक्षिणकाली, चन्द्रागिरिलगायत नगरपालिकाको स्थानीय पाठ्यपुस्तक निर्माण अन्तिम चरणमा पुगेको छ ।