close

खेताला शिक्षक राखेर विद्यार्थीमाथि खेलबाड, विनासूचना विद्यालय बन्द

खेताला शिक्षक राखेर विद्यार्थीमाथि खेलबाड, विनासूचना विद्यालय बन्द

Trulli
ADVERTISEMENT

इलाम– सूर्योदय नगरपालिकाको एक विद्यालयमा खेताला (सट्टामा काम गर्ने शिक्षक) शिक्षक र कर्मचारी राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड भएको पाइएको छ ।


नगरपालिका प्रमुख रणबहादुर राईले विद्यालय अनुगमन गर्न जाँदा एउटै विद्यालयमा एक जना खेतला शिक्षक र एक जना कर्मचारी राखेको पाइएको जानकारी गराए ।


प्रमुख राईले आफ्नो फेसबुक वालमा विद्यालयले महिनाको ७ हजार रुपैयाँ दिएर खेताला शिक्षक राखेको जानकारी गराएका हुन् । यसका साथै विद्यालयमा सट्टामा कर्मचारी राखिएको पनि उनले उल्लेख गरेका छन् ।

 


अनुगमनका क्रममा खेताला शिक्षक राखी बालबालिकाहरूलाई अन्योलमा पार्ने शिक्षकहरूले नैतिकताको आधारमा आफैँ राजीनामा दिनु उचित हुने नगरप्रमुख राईको भनाइ छ ।


नगरपालिकाका बडा नम्बर १३ र १४ का केही विद्यालय विनाजानकारी बन्द गरेको पनि उनले उल्लेख गरेका छन् । उनले शिक्षा शाखामा विनाजानकारी विद्यालय बन्द गरेको पाइएको फेसबुक वालमा सार्वजनिक गरेका हुन् ।


नगरप्रमुख राईले विद्यालयको यस्तो बेथितिले नगरपालिकाले थालेका विद्यालय र विद्यार्थीको ‘बाह्र महिना, बाह्रै कार्यक्रम’, ‘नगरको इच्छा, नारीलाई उच्च शिक्षा’ छात्रावृत्ति कार्यक्रम, विज्ञान प्रदर्शनी कार्यक्रमलाई नकारात्मक प्रभाव पार्ने बताएका छन् ।


गुणस्तरीय शिक्षाको निम्ति नगरपालिकाले गरेको कामलाई सम्बन्धित प्रधानाध्यापकहरूले सहयोग गरे मात्र नगरपालिकाकोले शिक्षाको सवालमा बोकेको सपना पूरा हुने विश्वास गरेको नगरप्रमुखको भनाइ छ ।


नगरको समग्र शिक्षा विकासमा शाखाले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै शिक्षक अध्ययन अवलोकन भ्रमण अनुगमनले शिक्षामा सुधार ल्याउने नगरको प्रयासहरू सफल हुने तर्कसमेत राखेका छन् ।


‘खेताला शिक्षक र कर्मचारी राखेको होइन’


सूर्योदय नगरपालिका– १३ नम्बर वडाको बाल कल्याण आधारभूत विद्यालयमा खेताला शिक्षक नराखेको बताइएको छ । विद्यार्थीको पढाइलाई ध्यानमा राखेर सट्टामा शिक्षक राखेको भए पनि खेताला नभएको विद्यालयले जनाएको छ ।


विद्यालयका प्रधानाध्यापक कमलकान्त आचार्यले आफू लामो समयदेखि दम रोगी भएकाले उपचारमा जानुपरेको जानकारी गराउँदै, विद्यालय नगई बिदामा बस्दा मेरो अनुपस्थितिमा पढाउने शिक्षकको व्यवस्था गरेको तर खेताला शिक्षक नभएको बताए ।


प्रधानाध्यापक आचार्यले गएको १० पुसदेखि २९ गतेसम्म  विद्यालय नगई बिदामा बसेको नगरपालिकाको शिक्षा शाखालाई समेत जनाकारी नगराउनु भूल भएको जानकारी बताए ।


उनका अनुसार विद्यालयका कर्मचारीको सानो बच्चा भएकाले काम गर्न असहज भएपछि उनलाई केही समय बिदा दिएर सट्टामा कर्मचारी राखेको स्वीकार गर्दै यस विषयमा विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेको प्रष्ट पारे ।


‘आराम गर्न विद्यालय बन्द गरेका हौँ’


नगरप्रमुखको अनुगमनका क्रममा बन्द भेटिएका विद्यालयले परीक्षा सकिएपछि विद्यालय बन्द गरेको बताएका छन् । बन्द विद्यालयलमध्ये बुद्ध माध्यमिक विद्यालयले शिक्षा शाखामा मौखिक जानकारी दिएर बन्द गराएको जनाएको छ । अन्य विद्यालयले विद्यालय बन्द गर्ने विषय शाखामा जानकारी दिन भुलेको जनाएका छन् ।


कोरोना महामारी (कोभिड– १९) प्रभावसँगै खुलेको विद्यालयको परीक्षा सकिएपछि एक दिन आराम गर्न र चिसो छल्न विद्यालय बन्द गरेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पौडेलले जानकारी दिए ।

 

उनले बन्द भएका सबै विद्यालयसँग सल्लाह गरेर नै बिदाको सट्टामा पढाउने गरी परीक्षा सकिएपछि एक दिन बिदा गर्ने निर्णय गरेकामा विद्यालयले शिक्षा शाखालाई जानकारी नगराएको हुन सक्ने बताए ।


नगरपालिकाको शिक्षामा २२ करोड खर्च

 

सूर्योदय नगरपालिकाले शिक्षामा २२ करोड रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । संघीय सरकारले  सशर्त अनुदानमार्फत खर्च गर्ने गरेको छ । यसका साथै नगरपालिकाले थप केही करोड रुपैयाँ विद्यार्थीको शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउन खर्च गर्दै आएको नगरप्रमुख राईले जानकारी गराए ।


शैक्षिक गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयहरूमा इलेक्ट्रोनिक हाजिरीको सरुवात गर्दै विद्यार्थीका लागि दिवा खाजाको समेत व्यवस्था गरेको छ ।


विद्यालयमा जोडिएका प्रविधिले सामुदायिक विद्यालयमा पनि नवीन सोच र खोजका साथ प्रविधि नजिक हुँदै आफैँ क्रियाशील हुन थालेको नगरप्रमुख राईको अनुभव छ ।


नगरपालिकाले खाजाबापत विद्यार्थीलाई प्रतिव्यक्ति १५ रुपैयाँको दरले खाजा खर्चको समेत व्यवस्था गरेको छ । विद्यार्थीको खाजाका लागि सम्पूर्ण व्यवस्था विद्यालयले गर्नुपर्ने व्यवस्था भएको नगरपालिकाले जनाएको छ ।


विद्यार्थीको खाजाको यस्तो व्यवस्था प्रभावकारी रूपमा व्यवस्थापन गरेर कुनै पनि विद्यार्थी विद्यालय आउँदा भोकै हुन नदिन प्रमुख राईले प्रधानाध्यलाई विद्यालय अनुगमनका क्रममा निर्देशनसमेत दिएका छन् ।