close

१० महिनापछि माघे ठिहिमा विद्यालय जान थाले हुम्लाका विद्यार्थी

१० महिनापछि माघे ठिहिमा विद्यालय जान थाले हुम्लाका विद्यार्थी

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाका तीनवटा गाउँपालिकामा रहेका विद्यालयमा आजबाट पठनपाठन सुरु भएको छ । कोरोना संक्रमणको त्रासले झण्डै १० महिना देखि बन्द यहाँका तीनवटा गाउँपालिकाका ७७ वटा विद्यालय आजबाट खुलेका छन् । जिल्लाको सिमकोट, ताँजाकोट, र सर्केगाड गाउँपालिकाभित्रका ७७ विद्यालय सञ्चालनमा आएका हुन् ।


लामो समयदेखि कोरोनाका कारण बन्द भएता पनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि तीनवटा गाउँपालिका अन्तरगर्तका निजी तथा सामुदायिक विद्यालय आजबाट सञ्चालनमा आएका हुन् ।

 

सिमकोट गाउँपालिकामा रहेका निजी तथा सामुादायिक गरेर २८ वटा विद्यालय सञ्चालनमा आएको गाउँपालिकाले जानकारी दिएको छ ।     झण्डै १० महिनापछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित देखिएको मानसरोवर माध्यामिक विद्यालयका प्रिन्सिपल अमर बहादुर शाहीले जानकारी दिए ।

 

यसअघि गाउँपालिकाले विद्यालय सुरु गर्ने निर्णय गरेपछि आजबाट विद्यालय सञ्चालनमा आएको शाहीले बताए । पढाई सुरु भएकै दिन ८० प्रतिशत वढी विद्यार्थी भौतिक रुपमै उपस्थित भएको विद्यालयहरुले जानकारी गराएका छन् उता जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिकाका ३२ वटा बिद्यालयमा पनि पठन पाठन एक साथ सुरु भएको गाउँपालिकाले जानकारी दिएको छ ।

 

ताँजाकोट गाउँपालिकाका १७ वटा विद्यालयमा पठन पाठन शुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले बताए । विधार्थी र शिक्षकले कोरोना संक्रमण विरुद्धका सामाग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएको उनको भनाइ छ ।


 
हुम्लामा २ फागुनबाट नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा कोरोनाका कारण भरखर पढाई सुरु भएकाले पठनपाठनलाई तिब्रता दिने विद्यालयले जनाएका छन् । शुक्रवार समेत पुरा दिन पढाई सञ्चालन गर्ने विद्यालयले जनाएका छन् ।

 

अदानचुली गाँउपालिकामा रहेका विद्यालयमा भने गत १५ पुसबाटै पठनपाठन सुरु भइसकेको  छ भने अब तीन वटा गाउँपालिका नाम्खा, खार्पुनाथ र चंखेलीमा पनि चाँडै पठन पाठन सुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएका छन् । हुम्लाका विद्यालयमा पहिलो पटक पुस–माघ महिनामा पनि पठनपाठन सुरु भएको हो ।