close

भूकम्पपछि पुनर्जीवन पाएको दरबार हाइस्कुलमा विद्यार्थीकाे घुईँचाे (भिडियाे खबर)

भूकम्पपछि पुनर्जीवन पाएको दरबार हाइस्कुलमा विद्यार्थीकाे घुईँचाे (भिडियाे खबर)

ADVERTISEMENT

काठमाडौं- १ सय ६७ वर्षको इतिहास बोकेको दरबार हाइस्कुलमा ५ वर्षपछि अध्ययन सुरु भएको छ । रानीपोखरीस्थित ऐतिहासिक विद्यालयलाई ०७२ को भूकम्पले क्षति पुर्‍याएसँगै चीन सरकारको सहयोगमा निर्माण गरेर कक्षा सुरु गरिएको हो ।

 

चिटिक्क सिंगारिएको चार तलाको भवन, राणाकालीन समयको झ-झल्को दिने यो भवनमा अहिले विद्यार्थीको आकर्षण छ । मौलिक शैलीमा निर्माण गरिएको भवनमा अहिले विपन्न मात्र नभई सम्पन्न परिवारकाले पनि आफ्ना बालबालिका पढाउन थालेका छन् भने विद्यार्थी र शिक्षक पनि उत्साहित छन् । 

 

‘दरबार हाइस्कुल’ नेपालकै पहिलो र पुरानो विद्यालय हो । कुनै बेला यो विद्यालयलाई सर्वसाधारण, विद्यार्थीले एक झलक पनि हेर्दैन थिए । जीर्ण भवन संरक्षण नहुँदा अशोभनीय देखिएको यो भवनको अहिले स्वरूप फेरिएको छ । 


०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त भवनलाई चिनियाँ सरकारले ८५ करोड रुपैयाँको लागतमा निर्माण गरिदिएपछि अहिले हरेक दिन घन्टी बज्छ । विद्यार्थी कक्षा पुग्छन् र किताब निकालेर पढ्न थाल्छन् । 

 

अहिले यो भवन आकर्षणको केन्द्र बनेको छ । गेटबाट छिरेलगत्तै देखिने हरियो दुबो र फूलले हरेकको मन लोभ्याउँछ । पढ्नै मन नगर्ने विद्यार्थीलाई पनि विद्यालय प्रांगणले लोभ्याउँछ । 


विद्यालयको  कक्षाकोठामा विद्यार्थी खचाखच हुन थालेका छन् । स-साना कुर्सी राखिएको यो विद्यालयका भित्तामा लगाइएको नीलो र सेता रंगले रंगजस्तै कञ्चन विद्यार्थीलाई पढ्न प्रेरित गरिरहेको छ । 

 

१ सय विद्यार्थी अध्यापन गराउँदै आएको यो विद्यालयमा अहिले कक्षा १ देखि ९ सम्म गरेर ३ सय २४ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको छ ।

 

पुनर्निर्माणपछि विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः ६ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो ।

 

५  वर्षअघिको विद्यालय र विद्यार्थीको उपस्थिति र अहिलेको अवस्था सम्झिएर शिक्षक पनि दंग छन् । विद्यार्थीको आकर्षण बढ्न थालेपछि दरबार हाइस्कुलका शिक्षक अखिलेश यादव भन्छन्- मुहार फेरिएको विद्यालयमा विद्यार्थी पढ्न रमाइरहेका छन् ।


सरकारले उपत्यकाका महत्त्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा र्निर्माण गरिएको ऐतिहासिक विद्यालय भवनको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । 

 

नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ । विद्यार्थी पनि कोरोनापछि पढ्न आउँदा विद्यालयको स्वरूप र कक्षाकोठा देखेर आकर्षित भएका छन् । अझ, भौतिक रूपमै उपस्थिति जनाउँदा रमाइलो लागेको विद्यार्थीद्वय सचिना नेपाल र अमृश पौडेल सुनाउँछन् ।

 
भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, २ वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रूपले निर्माण गरिएको छ । त्यतिमात्र नभई २४ घन्टै विद्यालयलाई सीसीटिभी क्यामेराबाट समेत मोनिटरिङ गर्न सकिने सुविधा रहेको शिक्षिका शारदा पौडेलले जानकारी दिइन् ।


जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि १९१० मा दरबारियाका छोराछोरीलाई मात्र पढाउन दरबार हाइस्कुल स्थापना गरिएको थियो । राजा-महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो विद्यालयमा अंग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहास छ । १९५७ मा देवशमशेर प्रधानमन्त्री भएपछि दरबार हाइस्कुलमा जनताका छोराछोरीले पढ्न पाउने व्यवस्था गरिएको हो ।