close

स्कुलमा राजनीतिः ‘यस सर’ होइन, ‘बहिष्कार सर’ ! 

स्कुलमा राजनीतिः ‘यस सर’ होइन, ‘बहिष्कार सर’ ! 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ नायगाडमा रहेको एक विद्यालयमा विद्यार्थीले नै तालाबन्दी गरेका छन् । विद्यालयमा क्रियाशील अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को मावि मूल इकाइ कमिटीले मंगलबार हिमालय माध्यमिक विद्यालय नायगाडमा तालाबन्दी गरेको हो । 


विद्यालयको शैक्षिक सुधारमा विद्यालय परिवारले चासो नदेखाएको भन्दै शैक्षिक सुधारका लागि छलफल नहुँदासम्म तालाबन्दी जारी रहने विद्यार्थीले जनाएका छन् । 


विद्यार्थीको पढाइमा ध्यान नदिई शिक्षकले मनोमानी गरेको, विद्यालय व्यवस्थापन समितिले बेवास्ता गरेको, विद्यार्थीको नियमित पठनपाठन र भविष्यप्रति खेलबाड गरेको भन्दै विद्यार्थीले विद्यालयमा ताला लगाइदिएका हुन् । 

 

शिक्षकहरू विद्यालयमा अनुपस्थित भइरहेको र उपस्थित भए पनि पठनपाठन नगरी हाजिर लगाएर मात्रै तलब पचाउने गरेको, दैनिक पठनपाठनमा ध्यान नदिएर ट्युसन कक्षालाई अनिवार्य गराई महँगो शुल्क लिने गरेकाले यसविरुद्ध तालाबन्दी गर्नुपरेको अनेरास्ववियु जिल्ला कार्यालय सदस्य तिलकराज रसाइलीले बताए । 


सरकारले उपलब्ध गराएको शैक्षिक सामग्री व्यक्तिगत काममा प्रयोजन गरेको, भौतिक पूर्वाधार, शौचालय, कम्प्युटर शिक्षा, पुस्तकायलय प्रयोगमा नल्याइएको, छात्रवृत्ति नियमित र पारदर्शी नभएको, शिक्षक, अभिभावक, विव्यस र विद्यार्थीबीच एकता नभएको, शिक्षकहरू विद्यालय प्रशासनको अनुमतिबिनै व्यक्तिगत काममा हिँड्ने गरेको विद्यार्थीको आरोप छ ।


विद्यालयको लेखा परीक्षण सार्वजनिक नगरिएको, कक्षा ११ र १२ मा नियमित पठनपाठन नगरेको, विषयगत शिक्षक महिनौँसम्म प्रशासनको सम्पर्क बाहिर रही पढाइ अवरुद्ध गरेकाले माग पूरा नहुन्जेल तालाबन्दी गरिएको विद्यार्थीको दाबी छ ।


यसअघिका समयमा अभिभावकले कुरा उठाउँदा विद्यालयले बेवास्ता गरेकाले बाध्य भएर विद्यार्थीहरू तालाबन्दीमा उत्रिनुपरेको मावि कमिटीका अध्यक्ष प्रदीपकुमार कामी र सविच अस्मिता खड्काले बताए । 

 

विद्यार्थीले लगाएको आरोप केही कुरा सत्यता रहे पनि मनोमानी नगरिएको विद्यालयका प्रधानाध्यापक मोहनकुमार रोका मगरले बताए । आफूलगायत केही शिक्षक तालिमका लागि नेपालगञ्जमा रहेकाले मंगलबार विद्यार्थीले विद्यालयमा ताला लगाएको विषय विस्तृत रूपमा थाहा नभएको प्रअ रोकाले जानकारी दिए ।