close

शिक्षा र स्वास्थ्य पूर्वाधार निर्माणमा जुट्यो बर्दिबास

शिक्षा र स्वास्थ्य पूर्वाधार निर्माणमा जुट्यो बर्दिबास

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी पूर्वाधार निर्माण अगाडि बढाएको छ ।


नगरका १४ वटै वडाका स्वास्थ्य केन्द्रमा थप सुविधा विस्तार गर्ने गरी धमाधम भवन निर्माण हुँदै छन् भने नगरपालिकाभित्र रहेको सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने प्रक्रिया सुरु भएको छ ।

 

करिब ५० शय्या क्षमताको अस्पताल निर्माण सम्पन्न भएसँगै बिरामीको स्वास्थ्योपचारलाई सहज र गुणस्तरीय बनाउन २ जना विशेषज्ञ नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले बताएको छ ।

 

१ जना ओपिडी र १ जना गाइनोकोजोलिस्ट, १ जना एम्बुलेन्स चालक गरी ३ जनालाई तत्काल नियुक्त गर्ने गरी प्रक्रिया अगाडि बढेको हो ।

 

सार्वजनिक सेवालाई मितव्ययी, पारदर्शी, जवाफदेही बनाउने पहल हुँदै आएको नगरप्रमुख विदुर कार्की बताए । २०७७/७८ भित्रै स्वास्थ्य क्षेत्रको विकाशमा विभिन्न योजनासमेत अघि सारिएको उनले जानकारी दिए ।


निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य उपकरण र औषधीको सुनिश्चितता गरिने, एक वडा एक योग केन्द्र कार्यक्रमलाई क्रमशः कार्यान्वयनमा ल्याइने, स्वास्थ्य सुधार अभियानअन्तर्गत संस्थागत सुधार र क्षमता वृद्धिलाई जोड दिइनेछ ।

 

‘बहुक्षेत्रीय पोषण योजनालाई कार्यान्वयन गर्दै छौँ । सरकारी अस्पतालमा अत्याधुनिक स्वास्थ्य उपकरण र विशेषज्ञको व्यवस्था गरेर नागरिकलाई स्वास्थ्योपचारमा खर्चिनुपर्ने महँगो शुल्कबाट मुक्त गर्ने र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ’, नगरप्रमुख कार्कीले भने ।

 

नगरले २०७७/७८ का लागि मात्रै स्वास्थ्य क्षेत्रमा सपूरक बजेटबाट ३ करोड ९० लाख रुपैयाँ बढी विनियोजन गरेको छ । सरकारी अस्पतालमा विशेषज्ञबाट उचित सल्लाह र परामर्श दिने भए पनि स्वास्थ्य उपकरणको भने अझै अभाव रहेको नगरबासी बताउँछन् ।

 

‘स्वास्थ्य उपकरण ल्याइए पनि जडान भएको छैन । विशेषज्ञ सेवा पनि थप गरिएको भनिएको छ । अबदेखि निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्दैन होला’, बर्दिबास वडा नम्बर १४ की रीता साहले भनिन् ।

 

नगरले वडा–वडामा स्वास्थ्य भवन निर्माणका लागि शिलान्यास गरिसकेको छ । सर्वसाधारणको स्वस्थ रहने मौलिक हकलाई स्थानीय सरकारले मुख्य प्राथमिकतामा राखेको छ भने भवन निर्माणका लागि जग्गादाताबाट सहयोगको प्रतिबद्धता आएको नगरप्रमुख कार्कीले बताए ।


‘आगामी ५ वर्षभित्र र ५ वर्षपछि स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा हुने विकासको मार्गचित्र छिट्टै सर्वसाधारणलाइ प्रस्तुत गर्दै छौँ’, कार्कीले भने । नगरप्रमुख कार्कीले वडा नम्बर ३ पाटुमा बनाइन लागेको बर्थिङ सेन्टरसहितको भवन शिलान्यास गरे । उनले टोल–टोलमा सर्वसाधारणको स्वास्थ्य अवस्था थाहा पाउन घुम्ती शिविरसमेत सञ्चालन गरिने बताए ।