close

रामेछापको आफ्नै पाठ्यसामग्री

रामेछापको आफ्नै पाठ्यसामग्री

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछाप नगरपालिकाले नगरको समग्र वस्तुस्थिति झल्कने गरी स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको छ ।

 

रामेछाप नगरपालिकाले यसअघि नगर प्रोफाइल तयार गर्दा लिएको तथ्यांकलाई मुख्य आधार बनाएर समग्र नगरपालिकाको वस्तुस्थिति झल्कने गरी कक्षा १ देखि कक्षा ८ सम्म अध्यापन गराउने गरी ‘हाम्रो रामेछाप नगरपालिका’ पाठ्यपुस्तक तयार गरेको हो । 

 

पुस्तक सार्वजनिक गर्दै रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले पालिकाका विद्यालयमा अध्ययनरत बालबालिकालाई नगरको समग्र वस्तुस्थिति अध्ययन गर्न सक्ने गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।

 

रामेछापको रणनीतिक योजनाको वस्तुगत विवरणको आधारमा तयार पारिएको पाठ्यपुस्तकले विद्यार्थीलाई आफ्नो नगरको विषयमा थप जानकारी लिन सहज हुनुका साथै नगरले समग्र विकासका लागि तय गरेको ‘कृषि, पर्यटन, सडक, खानेपानी हाम्रो पूर्वधार, रामेछाप नगर विकासको दिगो आधार’ नारालाई मूर्त रूप दिन सहयोग पुग्ने नगर प्रमुखको भनाइ छ ।

 

पहिलो पटक सार्वजनिक गरिएको स्थानीय पाठ्यपुस्तक भएकाले यसलाई कार्यान्वयन गराउन शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले भूमिका खेल्नुपर्नेमा नगर प्रमुख थापा मगरले जोड दिए ।

 

पाठ्यपुस्तकलाई समय अनुसार परिमार्जन गर्न सकिने भएकाले पुस्तकमा आवश्यकताअनुसार विषयवस्तु थपघटका लागि सुझाव दिन नगर प्रमुखले आग्रह गरे ।

 

पुस्तकमा रामेछाप नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थल, विविध जातजाति, स्थानीय चाडपर्व, भाषा, बाजा, व्यवसाय, स्थानीय खेल, खानेकुरा, पर्यटन, स्रोत–साधनलगायत विषयवस्तु समेटिएका छन्  ।

 

शिक्षा शाखाका संयोजक सुकदेव नेपालले नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई स्थानीय विषय पाठ्यक्रम तथा शिक्षण सिकाइबारे सहजीकरण गरेका थिए ।