ओखलढुंगा– ओखलढुंगाका ७५ वटा सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू गरिने भएको छ । त्यसका लागि सबै तहबाट विद्यालय छनोटको काम सकिएको छ ।
जिल्लाबाट ८ स्थानीय तहका ७५ विद्यालय छनोट भएका हुन् । त्यसअन्तर्गत विभिन्न ६ किसिमका कार्यक्रम तयार गरिएको छ । १८ लाख रुपैयाँ बराबरको कक्षाकोठा निर्माणका लागि १२ वटा विद्यालय, ७ लाख बराबरको खानेपानी र शौचालय निमार्णका लागि २ वटा विद्यालय छानिएका छन् ।
त्यस्तै, ६ लाख ५० हजार रुपैयाँ बराबरको कम्प्युटर ल्याबका लागि १० र पुस्तकालय तथा प्रयोगशाला निर्माणका ७ विद्यालय छनोटमा परेका शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाका प्रमुख भीमप्रसाद मिश्रले बताए ।
शैक्षिक सुधारका लागि विद्यालयले दिएको आवेदन स्थानीय तहले प्रमाणित गरेर शिक्षा विकास तथा समन्वय इकाइमार्फत संघीय सरकारलाई पठाइएको थियो ।
आवेदन पेस गरेका जिल्लाका ८ वटै स्थानीय तहका ८० विद्यालयमध्ये ७५ वटा विद्यालय छनोटमा परेका हुन् ।
छनोटमा भएका विद्यालयमध्ये सबैभन्दा बढी लिखु गाउँपालिकाका १४ वटा र सबैभन्दा कम मानेभज्याङ गाउँपालिकाका ३ वटा छन् । चम्पादेवी, सुनकोसी र मोलुङका ११–११, खिजीदेम्बाका १०, चिसंखुगढीका ७ र सिद्धिचरण नगरपालिकाका ८ वटा विद्यालय छनोट छन् ।
त्यस्तै, शिक्षामा नवीन प्रवद्र्धनतर्फ २४, सिकाइ सामग्रीतर्फ १८ वटा विद्यालय छनोटमा परेका छन् । छनोटमा परेका विद्यालयमा चालू आर्थिक वर्षभित्रै कार्यक्रम सम्पन्न गर्ने गरी सम्बन्धित पालिकामा बजेट निकासा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ । यस्ता कार्यक्रमले शैक्षिक सुधार तथा पूर्वाधार व्यवस्थापनमा योगदान गर्ने अभिभावकको विश्वास छ ।