close

आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा प्रकाशन गर्न आठराई त्रिवेणीको पत्राचार 

आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा प्रकाशन गर्न आठराई त्रिवेणीको पत्राचार 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले यसअघि भएका परीक्षालाई ८० प्रतिशत र आन्तरिक मूल्यांकनलाई २० प्रतिशत आधार मानी कक्षा ८ बाहेक अरू तहका परीक्षाको नतिजा प्रकाशन गर्न पालिकाभरका सबै विद्यालयलाई परिपत्र गरेको छ ।

 

शिक्षा अधिकृत सीतादेवी लावतीका अनुसार शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाको नतिजा २०७८ को जेठ मसान्तसम्म प्रकाशन गरिसक्नुपर्नेछ । उनका अनुसार (कक्षा १-७ र ९) यसपूर्व सञ्चालन गरिएका त्रैमासिक, अर्धवार्षिक परीक्षालगायतलाई ८० प्रतिशत अंक र आन्तरिक मूल्यांकन २० प्रतिशतलाई आधार मानेर विद्यालयले नतिजा प्रकाशन गर्नुपर्नेछ ।

 

गाउँपालिकाले कक्षा ८ को वार्षिक परीक्षाको मूल्यांकनसमेत सोही आधारमा गरी (प्रयोगाात्मक परीक्षाको प्राप्ताङ्क सहित) एक्सल सिटमा तयार गरी सफ्ट र हार्ड दुवै प्रति प्रमाणित गरी २५ जेठ भित्र गाउँपालिकाको शिक्षा शाखामा पठाइदिन विद्यालयहरूलाई परिपत्र गरेको छ ।

 

पालिकाले १ असार २०७८ देखि वैकल्पिक तथा प्रत्यक्ष-अप्रत्यक्ष माध्यमबाट स्वास्थ्य मापदण्डको पालना गरी विद्यार्थी भर्ना अभियान तथा नयाँ शैक्षिक सत्र आरम्भ गर्ने तयारी गर्नसमेत सबै विद्यालयलाई जानकारी गराएको शिक्षा अधिकृत लावतीले जानकारी दिइन् ।

 

कोभिड–१९ महामारी दिनहुँ बढिरहेकाले पालिकाले विद्यालयमा अत्यावश्यक काम गर्न जाँदासमेत भौतिक दूरी एवं स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गर्न तथा सम्भव भएसम्म आफू रहेकै स्थानबाट कामकाज गर्न पालिकाभरिका सबै विद्यालयमा जानकारी गराएको छ ।